चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

वन्यजन्तुबाट हुने सम्भावित क्षतिसम्बन्धी रत्ननगरमा आज आयोजित बिमा कार्यक्रमको उद्घाटन गर्दै उनले अबको दुई वर्षमा काम देखिने बताए ।

सौराहाचोकदेखि सौराहासम्मको छ किलोमिटर सडकलाई प्रदेश सरकारले नमूना सडक बनाउने भन्दै ठाउँ खाली गरिदिन उनले आग्रह गरे । देश र विदेशबाट आएका पर्यटकले सौराहाचोक पुगेपछि सौराहा आएको अनुभूति हुने गरी सडक निर्माण गरिने पौडेलको भनाइ थियो ।

परम्परागत खेतीले मुलुकको विकास नहुने भन्दै उनले एकीकृत खेती प्रणाली थालेर खाद्यान्नको आयात घटाउनुपर्ने बताए । बिमा कार्यक्रम गरेकोमा नगरपालिकालाई विशेष धन्यवाद दिँदै उनले यसलाई निरन्तरता दिनका लागि स्वामित्व स्थानीयले लिनुपर्नेमा जोड दिए ।

रत्ननगर नगरपालिका–७ बोद्रनी गाउँका १४९ घरका ६६६ बाट बिमा शुरु गरिएको हो । क्रमशः रत्ननगर नगरपालिका वडा नम्बर ५ देखि ११ सम्मका मध्यवर्ती क्षेत्रमा बस्ने विपन्न परिवारको बीमा गरिने नगरप्रमुख नारायण वनले जानकारी दिए ।

विपन्न परिवारको जीवन र जनधनको बिमा गरिएको हो । नगर प्रमुख वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनकुनै कारणले जुनसुकै ठाउँमा बिमा गरेका व्यक्तिको निधन, घाइते वा अङ्गभङ्ग भएमा बिमा भुक्तानी गरिने छ ।

मृत्यु हुँदा रु १० लाख पाउने गरी बिमा गरिएको छ । यसैगरी बालीनाली, घरपालुवा जनावर, घरगोठको क्षति भएमा क्षतिका आधारमा बिमा भुक्तानी गरिने छ ।

नगरपालिकाले रु आठ लाख, विश्व वन्यजन्तु कोषको रु आठ लाख, मृगकुञ्ज उपभोक्ता समितिले रु चार लाख, बाघमारा मध्यवर्ती सामुदायिक वनले रु चार लाख र सम्बन्धित बिमितबाट रु आठ लाख भुक्तानी गर्ने गरी रु ३२ लाख बराबरको बिमा सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया