चितवन । इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हाम फालेर मृत्यु भएका भनिएका नेपाली सेनाका जवानका परिवारले किटानी जाहेरी दर्ता गराएका छन् ।

अस्थायी प्रहरी चौकी फिस्लिङमा कार्यरत प्रहरी जवान ठाकुर ढकालका नाममा मृतकका परिवारले हत्याको आशंका गर्दै किटानी जाहेरी दर्ता गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले किटानी जाहेरी परेको र ढकाललाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जानकारी दिए ।

इच्छकामना–५ निवासी २८ वर्षीय राम कँडेल फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीमा राखिएका समयमा आज बिहान बरण्डाबाट हाम फालेर घाइते भएको प्रहरीले जनाएको थियो । घाइते कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

कँडेलको मृत्युपछि स्थानीयले हत्या भएको भन्दै आज दिउँसो तीन घण्टा पृथ्वी राजमार्ग अवरुद्ध गराएका थिए । मृतक कँडेलको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । मल्लका अनुसार नेपाली सेना, प्रहरी र परिवारका साथमा साँझ शव काठमाडौँ पठाइएको हो ।

प्रहरीले आज बिहान फिस्लिङ क्षेत्रमा झैझगडा गरेपछि नियन्त्रणमा लिइएका कँडेल प्रहरी चौकीको तल्लो तलाको बरण्डाबाट हामफाल्दा घाइते भएको जनाएको थियो । कँडेल सिन्धुलीको बर्दबहादुर गणका सिपाही हुन् ।

बिहान ७ः३० बजे लडेर घाइते भएका कँडेलको उपचारका क्रममा बिहान ८ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारले भने हत्या भएको दाबी गर्दै जाहेरी दर्ता गराएको हो ।

तपाईको प्रतिक्रिया