पोखरा । नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा–१५, पट्नेरीका स्थानीयवासीलाई कम्बल वितरण गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस कास्कीले आज विज्ञप्ति जारी गर्दै उक्त वडाका वडाध्यक्ष प्रकाश पौडेलले पट्नेरीका १२ जनालाई कम्बल वितरण गरेको भन्दै उक्त कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने बताए ।

“निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँछौँ,” विज्ञप्तिमा भनिएको छ । निर्वाचन कार्यालयले अनुगमन गरी आचारसंहिता विपरीत कार्य गर्नेमाथि कारबाही गर्न कांग्रेसले माग गरेको छ ।

यसैबीच, निर्वाचन आचारसंहिता विपरीत वडा कार्यालयले कम्बल वितरण गरेको भन्दै नेपाली कांग्रेस कास्कीले आज निर्वाचन आयोगमा उजुरी दिएको छ ।

निर्वाचन क्षेत्रभित्र मतदातालाई प्रलोभनमा पार्ने काम वडा कार्यालयबाटै भएको भन्दै वडाध्यक्षलगायत त्यस कार्यमा संलग्नलाई कारबाहीको मागसहित उजुरी दिइएको कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया