चितवन । चितवनमा हालसम्म १० हजार ७१५ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । गत असार १९ गतेबाट यहाँ परिचयपत्र बनाउने कार्य सुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार अहिले दैनिक नागरिकता बनाउन आउनेलाई राष्ट्रिय परिचयपत्रसमेत बनाउन लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवन स्थापना भएयता जिल्लाबाट पाँच लाख ६८ हजार २७ जनाले नागरिकता लिएका छन् । ती सबैलाई राष्ट्रिय परिचयपत्र निर्माणका लागि प्रशासन कार्यालयले आग्रह गरेको उनले जानकारी दिए ।
सरकारले फोटोसहितको बायोमेट्रिक स्मार्टकाड प्रयोग गर्नका लागि परिचयपत्र निर्माणको काम सुरु गरेको हो । व्यक्तिको राष्ट्रिय पहिचानको प्रमाणपत्रको रुपमा, मतदाता परिचयपत्रको रुपमा, जग्गा जमीन र अन्य सम्पत्तीको अभिलेख राख्न, सामाजिक सुरक्षाकार्डको रुपमा यो परिचयपत्र अघि सारिएको हो ।
व्यक्तिगत विवरणसहित दशवटै औँलाको औँठा छाप, फोटो हुने भएकाले अन्य सामग्री बोकिराख्नुपर्ने झन्झट नहुने उनले जानकारी दिए ।