
महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ सालघारीमा यही माघ १७ गतेदेखि प्रदेश स्तरीय रेन्बोकाई कराँते प्रतियोगिता हुने भएको छ । सालघारी रेन्बोकाई कराँते डोजाङ संघ र सालघारी युवा समाजको संयुक्त आयोजनामा माघ १७ र १८ गते दुई दिन प्रीतयोगिता हुने बुधवार सालघारीमानै पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ । प्रतियोगितामा ३ नं. प्रदेशमा रहेका १३ जिल्लाका करिब २ सय ५० जना खेलाडीहरु सहभागी हुने सालघारी रेन्बुकाई कराते डो संघका प्रमुख लाल बहादुर तामाङले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
खेल सम्पन्न गर्नको लागि करिव ९ लाख ६० हजार रुपैया खर्च हुने र खेलमा प्रथम हुनेलाई रु. ५५ हजार, द्वितीय हुनेलाई रु. ३५ हजार र ट्रफी प्रदान गरिने सालघारी युवा समाजका संयोजक बिशाल लामाले जानकारी दिए । उनले २५ देखि ६० केजी तौल समूहमा महिला र पुरुषको अलग अलग प्रतियोगिता हुने र महिला तथा पुरुषको ९–९ वटा तौल समूहमा सो प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।
प्रतियोगिता पञ्चदिप आवासीय माध्यमिक विद्यालय रत्ननगर १२ सालघारीको प्राङ्गणमा २ दिनसम्म संचालन हुनेछ । प्रतियोगिता सालघारी क्षेत्रमा कबर्ड हल निर्माणका लागि दबाब दिने उद्देश्यले सञ्चालन गर्न लागिएको सालघारी युवा समाजका सल्लाहाकार सिव गुरङले जानकारी दिए ।
“स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल” भन्ने मुल नारा रहेको सो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई यातायात तथा आवासको समेत व्यवस्था गरिएको सालघारी युवा समाजका अर्का सल्लाहाकार दुर्गा सिंं गुरुङले बताए ।
कार्यक्रममा गौतम बुद्ध युवा क्लवका अध्यक्ष दिपक थापा, आकृति महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष फुलमाया तमाङ, सचिव सुष्मा श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।