चितवन । महाकाली मेची साईकल यात्रामा रहेका युवाहरु जब चितवन आईपुगे तब चितवनमा उनिहरुलाई स्वागत गरिएको छ । “कालापानी लिपुलेक हाम्रो हो” भन्ने नाराका साथमा मेडिकल क्षेत्र तथा ब्यवस्थापन संकायमा ब्याचलर अध्ययन गरेका ३ जना युवाहरुले कार्तिक २८ गते देखि सो अभियान सुरु गरेकोमा बुधवार छैठौं दिन करिब ५६५ कि.मी. यात्रा गरि चितवन आईपुगेका हुन ।

अभियानमा मणीग्राम–५, बुटवलका प्रजन्य घिमीरे, घोराई–१५, दाङका बिनय अर्याल र भरतपुर–२०, चितवनका उपकार पौडेल रहेका छन् । उनिहरुलाई रत्ननगरको बकुलहर चोकमा रोटरी क्लब अफ रत्ननगरका प्रथम उपाध्यक्ष सुर्य पौडेल तथा नेपालीको आवाज डटकमका अध्यक्ष महेश पाण्डे तथा निर्देशक बिपिन शर्मा आचार्यले स्वागत गरेका थिए ।

अभियानमा रहेका भरतपुर–२०, चितवनका उपकार पौडेलले खासमा यो अभियानमा धेरै कुरा जोडिएको बताए । उनले सो अभियानमा स्वास्थ्यको लागि साईकल, पर्यटनको लागि साईकल साथै नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल बनाउनु पनि रहेको बताए ।
घोराई–१५, दाङका बिनय अर्यालले अभियानको क्रममा दैनिक १०० किमी साईकलको यात्रा रहने गरेको बताए । उनले सो अनुसार अबको ४ दिनमा लक्ष्य पुरा गर्ने सोच भएको बताए ।

अभियानका अर्का साईकल यात्री मणीग्राम–५, बुटवलका प्रजन्य घिमीरेले आफुहरुको यात्रा मुख्य राजमार्गबाटनै अगाडी बढ्ने भएकाले जम्मा ९ दिनमा लक्ष्यमा पुग्ने बताए । सो अनुसार अब ४२६ किमीको यात्रा गर्न बांकी रहेको समेत उनले जानकारी दिए ।

रोटरी क्लब अफ रत्ननगरका प्रथम उपाध्यक्ष सुर्य पौडेलले युवाहरुको जोस जागरको खुलेरनै प्रशंसा गर्दै अहिलेका युवाहरु लागु औषधमानै ब्यस्त हुने अवस्था देखिएपनि ३ जनाको युवाहरुको यो साहसले अरु युवाहरुमा पनि सकारात्मक उर्जा थप्ने बिश्वास लिए ।

नेपालीको आवाज डटकमका अध्यक्ष महेश पाण्डेले अहिले भारतले आफ्नो नक्सामा नेपालको भुमिपनि राखि नेपालकोनै अपमान गरिरहेको परिप्रेक्षमा ३ जना युवाहरुले साईकलमा यात्रा गरेरनै महाकाली देखि मेची सम्म जानु सानो तिनो कुरा नभएको भन्दै सो अभियान सफल रहनेमा आफुलाई कुनै संका नभएको बताए ।

त्यस्तै नेपालीको आवाज डटकमका निर्देशक बिपिन शर्मा आचार्यले युवाहरुको सो यात्राले आन्तरिक पर्यटनमा एउटा राम्रो सन्देश जाने जिकीर गर्दै आफुहरुको अनलाईन यी र यस्का कार्यलाई आम जनतामा पुर्याउन सधै अग्रसर रहने समेत बताए ।

तपाईको प्रतिक्रिया