काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ढिलागरी मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नयाँ मन्त्रीहरुको सूची राष्ट्रपति निवास पठाएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम २५ सदस्यीय नयाँ मन्त्रिमण्डलको पुनर्गठन गरेकी हुन् ।

नयाँ मन्त्रीमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ रहेका छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वर्तमान मन्त्रिमण्डलबाट बिदाइ हुने मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव रहेका छन् ।

यस्तै, राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव पनि आफ्नो जिम्मेवारीबाट मुक्त भएका छन् ।

यसैगरी, उपप्रधानमन्त्री उपेन्द्र यादव र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको एकआपसमा विभागीय मन्त्रालय हेरफेर भई उपप्रधानमन्त्री यादवले कानून र ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने भएका छन् ।

विसं २०७४ फागुन ३ गतेदेखि केपी ओलीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको थियो । सरकार गठनको २१ महिनासम्म पनि ओलीको नेतृत्वको मन्त्रिपरिषद्ले ठोस उपलब्धि हासिल गर्न नसकेको आरोप खेपिरहेका बेला ओलीले मन्त्रिमण्डल हेरफेर गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम आज बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा हुँदैछ ।

तपाईको प्रतिक्रिया