
पोखरा । कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी मैदानमा उत्रिएकी नेकपा उम्मेदवार विद्या भट्टराईले अब जनतालाई ढाँटेर र भ्रमको खेती गरेर नेता बन्न नसकिने बताएकी छन् ।
विज्ञान र प्रविधिको विकासले हरेक काम तत्काल सबैलाई थाहा हुने भएकाले अब जो कोही पनि जनतालाई ढाँटेर र भ्रमको खेती गरेर नेता बन्न नसक्ने भन्दै उनले पारदर्शी राजनीतिबाट मात्र राजनेता बन्न सकिने बताइन् ।
निर्मलपोखरीको दम्सादीमा ८७ वर्षीया जशोदा आचार्य र ९२ वर्षीय खेमराज आचार्यबाट आशीर्वाद लिँदै घरदैलोपश्चात् कोणसभामा भट्टराईले नेतालाई जिम्मेवार बनाउन जनताको ठूलो भूमिका हुने बताइन् ।
“नेताले नेतृत्व लिइरहँदा कहिलेकाहीँ बाटो बिराउन पनि सक्छन्, त्यसतर्फ सचेत बनाउन जनताको ठूलो भूमिका हुन्छ”, उनले थपिन् ।
आफूमाथि आम नागरिकको विश्वासले जीवनको महत्वपूर्ण समयलाई अब राजनीतिमा होमेर सामाजिक परिवर्तनका लागि चुनावी मैदानमा उत्रिएको उनको भनाइ थियो । सही समयमा सही निर्णय गर्नसके पछुताउनु नपर्ने भन्दै नेकपा जनताको समस्यालाई समाधान गर्नसक्ने पार्टी भएको दाबी गरिन् ।
उम्मेदवार भट्टराईले समृद्ध नेपाल राष्ट्रिय सङ्कल्प भएको र त्यसको नेतृत्व नेकपाले गरेकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्ने महाअभियान सफल पारेरै छाड्ने दृढतासमेत व्यक्त गरिन् ।
समृद्धिको सपना साकार पार्न पाँच वर्षका लागि पाएको जनादेश दुर्घटनावश फेरि अनुमोदनका लागि पोखरेली जनतामाझ आउनुपरेको भन्दै जनताको विश्वास टुट्न नदिने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
पोखरा–२१ का नेकपाका चुनावी कमाण्डर दीपक पौडेल, झपट रानाभाट, नेकपा–२१ का अध्यक्ष कृष्ण थापा, प्रकाश पौडेललगायतले नेकपा सरकारले गरेका कार्यको चर्चा गर्दै भावी दिनमा गर्ने योजनाबारे पनि प्रकाश पारे ।