पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुकलाई ठीक ठाउँमा ल्याउन कांग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने बताएका छन् ।
पोखरा–९ मा आज कांग्रेसद्वारा आयोजित चुनावीसभामा सरकारले चालेका कदम अलोकतान्त्रिक भएको आरोप लगाउँदै नेता कोइरालाले संविधान, प्रेस स्वतन्त्रता, समावेशीता, गणतन्त्र र संघीयता मास्न सरकार नै उद्धत रहेको उल्लेख गरे ।
विकास निर्माणबारे नेता कोइरालाले भने, “कास्की क्षेत्र नं २ अन्तर्गत केही वडामा कांग्रेसका प्रतिनिधि छन्, प्रदेशमा पनि कांग्रेसकै प्रतिनिधि छन् । त्यसैले प्रतिनिधिसभामा पनि कांग्रेसकै नेता पुगे यस क्षेत्रको विकासमा कायापलट हुन्छ ।”
अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गरे ।
राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवारभन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेकाले यी गुण उम्मेदवार पौडेलमा रहेको उनको भनाइ थियो ।
पोखरा–९ का वडासभापति उमा ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा, विन्दुकुमार थापा, वीरेन्द्रनारायण बिजुक्छे, रामराज लामिछाने र शिवराज बाँस्तोलालगायतले खेमराज पौडेललाई जिताउनुपर्ने विषयमा जोड दिएका थिए ।
कांग्रेस कास्कीको चुनाव प्रचार अभियान आजदेखि तेस्रो चरणमा प्रवेश गरेको छ । कांग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई तीन चरणमा विभाजन गरी चुनावी प्रचार गरेको थियो ।
पहिलो चरण पाँच दिन, दोस्रो र तेस्रो चरण सात÷सात दिनको छ । पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको काँग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित ग¥यो ।
तेस्रो चरणका सात दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिए ।
उनले यो चरणमा चुनावीसभामार्फत पार्टीको प्रतिबद्धता जनतासामु लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्ने कार्यको गोप्यरूपमा अनुगमन र खबरदारी गर्ने बताए ।
“पूरै पार्टी पंक्ति यो चुनावमा परिचालन भएको छ, जुन ठाउँमा जो आवश्यक पर्छ सोहीअनुरुप रणनीति तयारी गरेका छौँ”, सभापति केसीले भने, “अबको सात दिन मतदातामा केन्द्रित हुनेछौँ । पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्नेविरुद्ध खबरदारी गर्न पूरै तयारी गरेका छौँ ।”