-हृदयेन्द्र अनुरागी

चितवन । चितवनको उपनिर्वाचनमा तीनवटै वडामा कांग्रेसको जित हासिल गरेपछि सत्तारुढ नेकपाको ‘निद हराम’ भएको छ । भरतपुर महानगरपालिका वडा नं १६ र खैरहनी नगरपालिका वडा नं ४ र ५ को वडाध्यक्षका लागि शनिबार उपनिर्वाचन भएकोमा तीनवटै वडामा कांग्रेसले जित हासिल गरेको हो ।

भरतपुर १६ मा कांग्रेस उमेदवार अमृतराज हमालले नेकपाका उमेदवार भक्तराज हमाललाई ३०८ मतान्तरले पराजित गरेपछि नेकपामा निद हराम भएको हो । भरतपुर १६ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र हो । यसअघि सो क्षेत्रमा एमाले एक्लैले जितेको थियो । अहिले माओवादीसहितको एकीकरण हुँदा पनि पराजय भोग्नुपरेपछि नेकपाले आइतबार दिनभर हारबारे समीक्षा बैठक गरेको हो ।

भरतपुर १६ मा कांग्रेस उमेदवार अमृतराजले तीन हजार १८३ मत ल्याउँदा नेकपाका उमेदवार भक्तराजले दुई हजार ८७५ मत ल्याए । आठ हजार ४८१ मतदाता रहेको यस वडामा छ हजार २५० मतमात्रै खसेको थियो ।

नेकपा उमेदवार भक्तराजलाई जिताउन स्वयम् पार्टी अध्यक्ष प्रचण्ड नै लागिपरेका थिए । चितवनको उपनिर्वाचन नेकपाको तापक्रम नाप्ने यन्त्रका रुपमा रहेकोले जसरी पनि चुनाव जित्नुपर्ने अभिव्यक्ति प्रचण्डले पटकपटकको चुनावी कार्यक्रममा दिएका थिए । भरतपुर १६ मा नेकपाको पराजय प्रचण्डका लागि पनि ठूलो धक्का हो भने नेकपाको घट्दो तापक्रम पनि हो । राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति पार्वती रावलको वडासमेत रहँदा पनि नेकपाको पराजय हुनुलाई शुभसंकेतका रुपमा लिन मिल्दैन ।

तत्कालीन एमालेका उमेदवार चतुरमान गुरूङले जितेको वडामा समेत नेकपा पराकिलो मतान्तरले पराजित भएपछि नेकपामा भूइँचालो जानु अस्वाभाविक होइन । गुरूङले अहिले निर्वाचित अमृतराजलाई ६४ मतान्तरले हराएका थिए । अमृतराजले अघिल्लो हारको बदला लिनुको साथै नेकपालाई गतिलो झड्का पनि दिएका छन् ।

पूर्वी चितवनको खैरहनी ४ मा कांग्रेस उमेदवार देवबहादुर बस्नेतले नेकपा उमेदवार वेदबहादुर अधिकारीलाई १५२ मतान्तरले पराजित गरे भने खैरहनी ५ मा कांग्रेस उमेदवार प्रतिमा कार्कीले नेकपाका उमेदवार पुननारायण प्रधानलाई ८६ मतान्तरले पराजित गरिन् । वडा नं ४ मा कांग्रेस उमेदवार बस्नेतले एक हजार १३८ मत प्राप्त गर्दा अधिकारीले ९८६ मत प्राप्त गरेका थिए । दुई हजार ६९२ मतदाता रहेको यस वडामा दुई हजार १७२ मत खसेको थियो ।

वडा नं ५ मा कांग्रेस उमेदवार कार्कीले ८४२ मत प्राप्त गर्दा नेकपा उमेदवार प्रधानले ७५६ मत प्राप्त गरेका थिए । दुई हजार १११ मतदाता रहेको यस वडामा एक हजार ६७० मत खसेको थियो ।

खैरहनी ४ र ५ मा यसअघि पनि कांग्रेसकै उमेदवार निर्वाचित भएका थिए । दुवै वडाध्यक्षको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो । यी दुई वडा पूर्वअर्थमन्त्री एवम् नेकपाका प्रभावशाली नेता सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रअन्तर्गत पर्छ । खैरहनीका दुई वडा कांग्रेसले जित्नु सुरेन्द्र पाण्डेका लागि पनि नराम्रो झड्का हो ।

तपाईको प्रतिक्रिया