काठमाडौँ । बागलुङमा आज बिहान भएको जीप दुर्घटनाका गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन घाइते र एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । बेपत्तालाई बडिगाड खोलाले बगाएको हुनसक्ने स्थानीयवासीले जनाएका छन् ।

घाइते नवलपरासी बर्दघाट–२ बस्ने १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गाउँपालिका–४ का आठ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको बुर्तिवाङ स्वास्थ्य केन्द्रका डा मनोज मल्लले बताए ।

दुर्घटनास्थलमा लडेर घाइते भएका एक बालकलाई समेत सोही हेलिकोप्टरमा काठमाडौँ लगिएको हो । उद्धारका लागि सेनाको हेलिकोप्टरमा गुल्मीका पूर्वमन्त्री गोकर्ण विष्टसमेत आएका थिए ।

घाइतेलाई उद्धार गरी बुर्तिवाङ स्वास्थ्य केन्द्रमा लगिए पनि थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ को कोप्चे भन्ने स्थानबाट अनियन्त्रित भई जीप बडिगाड खोलामा दुर्घटना भएको थियो ।

जीप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको थियो । जीप क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रत्यक्षदर्शी इस्मा गाउँपालिका–७ गुल्मीका देवीराम कार्कीले जानकारी दिए । मृतक १४ मध्ये १० जनाको पहिचान खुलेको छ ।

सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाग्लुङमा जीप दुर्घटनामा परी १४ को मृत्यु, तीन गम्भीर घाइते र एकजना खोलाले बगाएर हराएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

गुल्मीबाट बाग्लुङको निसिखोला जाँदै गरेको ग१ज ५२१९ नंको जीप आज भीमगिठेमा दुर्घटनामा परेको हो ।

यही मङ्सिर ११ गते अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको बस सन्धिखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनाको पीडा रहेकै बेला आज बाग्लुङमा यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु हुनेगरी भएको दुःखद् घटनाले सिङ्गो मुलुकलाई नै शोकमग्न बनाएको उनले उल्लेख गरेका छन् ।

सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न÷गराउनसमेत सरकारको ध्यानाकृष्ट गराएका छन् ।

तपाईको प्रतिक्रिया