राप्ती । चितवनको राप्ती नगरपालिकाले अपाङ्गता भएका र उनीहरुका संरक्षकहरुलाई सम्मान गरेको छ ।

मंगलबार परेको अपाङ्गता दिवसका अवसरमा नगरपालिकाले त्यस्ता व्यक्तिहरुको घरघरमै पुगेर सम्मान गरेको हो । राप्ती नगरपालिकाले नगरको १३ वटै वडाका क वर्ग अपाङ्गता परिचयपत्र प्राप्त गरेका लाभग्राही र संरक्षकहरुलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईंले बताए ।

सम्मानका लागि राप्ती नगरपालिका प्रमुख प्रभा बराल, उपप्रमुख इमानसिंह लामा, प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईं र सम्बन्धित वडाका अध्यक्षहरु उनीहरुको घरघरमा पुगेका थिए ।

राप्ती नगरपालिकाभित्र ९४ जना अपाङ्गता भएकाहरुले क वर्ग अर्थात् रातो कार्ड प्राप्त गरेका छन् ।

अपाङ्गता भएकाहरुलाई एक किलोको हर्लिक्स र एक थान ब्लाङकेट प्रदान गरिनुका साथै उनीहरुका संरक्षकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया