चितवन । रोटरी क्लब अफ रत्ननगरले कालिका नगरपालिका वडा नं ३, लटौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर, स्टेशनरी तथा खेलकुदका सामग्री सहयोग गरेको छ ।
रोटरी क्लब अफ रत्ननगरले अधिकांश चेपाङ बालबालिका अध्ययन गर्ने सो विद्यालयमा स्टेसनरी, खेलकुद र स्वीटर वितरण गरेको हो ।
क्लबले सन् २००९ देखि सो विद्यालयमा खाजा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री अभाव रहेको जानकारी प्राप्त भएपछि स्टेशनरीसँगै खेलकुदका सामग्री वितरण गरिएको क्लबका अध्यक्ष विपीन पोखरेलले बताए । साथै क्लबले विद्यार्थीका अभिभावकलाई खाद्यान्न सामग्रीसमेत वितरण गरिएको बताए ।
सो विद्यालयमा ९३ जना विद्यार्थी अध्ययनरत छन् । चेपाङ विद्यार्थीको शिक्षाका लागि रोटरी क्लबले दिवा खानासहित शैक्षिक सामग्री, पोसाक, न्यानो कपडा वितरण गर्दै आएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
सो विद्यालयमा विद्यार्थी टिकाउन दिवा खाजाको अलावा गर्नुपर्ने कामका लागि रोटरी क्लबले निकट भविष्यमा विद्यालय व्यवस्थापन समिति र अभिभावकसँग छलफल गरी थप कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।
सामग्री हस्तान्तरण कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरु प्रेमकृष्ण खनाल, सुरेन्द्रनाथ रेग्मी, निवर्तमान अध्यक्ष जनक पौडेल, प्रथम उपाध्यक्ष सूर्यप्रसाद पौडेल, असिस्टेन्ट गभर्नर अनिल थपलियालगायतको सहभागिता रहेको थियो ।