चितवन । रत्ननगर महोत्सव पौष २५ गतेदेखि सुरु हुने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना हुने महोत्सव पौष २५ देखि माघ ७ गतेसम्म सञ्चालन हुने संघले आज बिहीबार रत्ननगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
पत्रकार संमेलनमा बोल्दै संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले यसपटकको महोत्सव “रत्ननगर महोत्सव हाम्रो पहिचान व्यावसायिक कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान” भन्ने नाराका साथमा अगाडि बढ्ने जानकारी दिए ।
उनले समग्र चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवर्द्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र संवद्र्धनमा रत्ननगर महोत्सवले विशिष्ट र दूरगामी महत्व बोक्ने भएकाले प्रत्येक दुई वर्षको अन्तरालमा महोत्सव हुने गरेको बताए । उनले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउनु नै महोत्सवको प्रमुख उद्देश्य भएको बताए ।
रेग्मीले चितवनवासीहरुले पर्वको रुपमा मान्दै आएको रत्ननगर महोत्सव आफैँमा अनुपम नमुनाको रुपमा रहेको बताउँदै रत्ननगर महोत्सव २०७६ मा स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोग परियोजनाको मूल नारासहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कृषिका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताए ।
यस पटकको महोत्सवमा बृहत व्यावसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिँचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, प्लान्ट क्लिनिक, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइएको बताउँदै अध्यक्ष रेग्मीले स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउबिजन प्रदर्शनको व्यवस्थासमेत गरिने जानकारी दिए ।
यस वर्षको महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर (Pavilion) हुने जानकारी दिँदै रेग्मीले यसपटक अन्तर्राष्ट्रिय प्रदर्शक (बंगलादेश, पाकिस्तान, भारत, चीन)हरुको पनि सहभागिता रहने बताए ।
उनले व्यावसायिकरुपमा कृषि व्यवसायमा लागेका कृषकका फर्ममै गएर मूल्यांकन गरी प्रतियोगिता संचालन गरिने जानकारी दिँदै सो कार्यलाई सफल बनाउन स्थलगत कृषि अवलोकन भ्रमणको पनि व्यवस्था मिलाइएको जानकारी दिए । उनले यसपालीको थप आकर्षणको रुपमा रत्ननगर महोत्सव र भ्रमण वर्षको अवसरमा हेलिकप्टरबाट स्थानीय पर्यटकीयस्थलहरुको भ्रमणकोे व्यवस्थासमेत मिलाइएको बताए ।
रेग्मीले पत्रकार सम्मेलनमा पत्रकारहरुलाई खासगरी विगतका महोत्सवमा जस्तै यस वर्ष पनि महोत्सवअगर्तत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको टाँडीबजारमा मासुको खपत बढाउन, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकारसहित दोश्रोपटक पोल्ट्री विशेष चिकेन एण्ड एग फुड फेस्टिबल कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले खासगरी पोल्ट्री क्षेत्रमा देखिएको समस्या समाधान गर्न टेवा पुगोस् र सबैको भान्छामा चिकेन र अण्डाको खपत बढोस् भनेर यसपटकको फेस्टिबलमा पोल्ट्रीजन्य उत्पादनलाई विशेष प्राथमिकतामा दिइएको बताए ।
संघका पूर्वअध्यक्ष तथा महोत्सवका आर्थिक संयोजक ज्ञानबहादुर विसुरालले महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तक्र्रिया कार्यक्रम, चितवनको आर्थिक विकासका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी पनि संचालन गरिने बताए ।
उनले यसपालीको महोत्सवमा माछापालनमा नयां वायोफ्लक प्रविधि प्रदर्शनी साथै माछापालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई पनि प्राथमिकतामा राखिएको बताए । खासगरी माछापालन व्यवसायको प्रर्वद्धनको लागि महोत्सवमा माछाको भूराको प्रर्दशनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टलहरु, चेतनामुलक सामाग्री, श्रव्यदृश्य तथा सेमिनार गरिने जानकारी पनि दिए ।
विसुरालले यसवर्षको महोत्सवमा पनि पर्यटन प्रवद्र्धनका कार्यक्रमअन्तर्गत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, चेपाङ पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बीसहजार ताल, टिकौलीमा रहेको जैविक विविधता सूचना केन्द्रको प्रचारप्रसारको व्यवस्था पनि मिलाइएको बताए । ्
रत्ननगर महोत्सव २०७६ को अवसरमा भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्न भरतपुर एयरपोर्टको स्तरोन्नति र रात्रीकालीन हवाई सेवा संचालन गर्न र स्थानीय सामुदायिक वन, इको टुरिजम पार्कमा जीप सफारीको लागि प्रवद्र्धनन र चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वनभित्र रात्रिकालीन जीप सफारी संचालनका लागि नेपाल सरकारसँग अनुमतिको लागि संघले पनि पहल गरिरहेका विसुरालले जानकारी दिए ।
रत्ननगर महोत्सव २०७६ मा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन करिव ५०० वटा स्टल रहने आयोजकले जनाएको छ । यस पटकको महोत्सवमा जिल्लाको सर्वपक्षीय मौलिक विशेषता झल्काउने विविध लोकसांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिने र ५ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अनुमान गरेको साथै करिब ५० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान आयोजकले लिएको छ ।
रत्ननगर महोत्सव २०७६ लाई सफल बनाउन मूल समिति, स्टेरिङ कमिटी, सल्लाहकार समितिलगायत विभिन्न कार्यका लागि ४१ वटा कार्यगत समितिहरु गठन गरी तदारुकताका साथ काम अगाडि बढाइसकिएको आयोजकको दाबी छ ।
रत्ननगर महोत्सवमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति तथा स्थानीयस्तरका उदयीमान प्रतिभाका कला प्रष्फुटन अवसर महोत्सव अवलोकनकर्ताको आकर्षण पहिलेका वर्षमा झैँ हुने आयोजकले जानकारी दिएको छ । यस बर्ष अझ भव्य र व्यवस्थित सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने तयारी गरिएको आयोजकले दाबी गरेको छ । यस वर्षको महोत्सवमा पनि विभिन्न आदिवासी जनजातिका भेषभूषा तथा नृत्यसहितको कला संस्कृति प्रदर्शन गरिने साथै अटो, कृषि, शैक्षिक, पशुपक्षी व्यवसायसँग सम्बन्धित छुट्टैे परिसर र विगतका वर्षमा जस्तै बालबालिकाहरुका लागि फनपार्क परिसरको पनि व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
महोत्सवको उद्घाटनको दिन पौष २५ गते विभिन्न जनजाति, धार्मिक, सांस्कृतिक, शैक्षिक तथा अन्य संघसंस्थाको सहभागितामा बाजा र झाँकीसहितको शोभायात्रा निकालिने भएको छ । त्यस्तै चितवनको विविध गतिविधि समाविष्ट भएको “रत्ननगर महोत्सव स्मारिका” पनि प्रकाशित गरिने आयोजले जनाएको छ । महोत्सवमा सुरक्षाको दृष्टिकोणले गर्दा पूर्ण अत्याधुनिक सिसीटिभीबाट निरीक्षण गरिने जानकारी आयोजले दिएको छ भने ५ करोडबराबर बिमाको व्यवस्था पनि मिलाइएको जनाएको छ ।
संघद्धारा जारी प्रेस बिज्ञप्तिमा रत्ननगर महोत्सव २०६४ मा परेवाकोटको हृदयविदारक दुर्घटनामा दिवंगत भएका तत्कालीन संघका कार्यसमिति सदस्य एवं महोत्सवका कला सांस्कृितक समितिका संयोजक स्व जगतकृष्ण प्रजापति, मेघनाथ उप्रेती र लक्ष्मी विकलाई स्मरण गर्दै घाइते पत्रकारहरुप्रति सहानभूति प्रकट गरिएको छ ।
सोही पत्रकार सम्मेलनमा उपस्थित रहेकी महोत्सवकी संरक्षक तथा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले आफू महोत्सवको संरक्षक पनि भएको हिसाबले यसलाई कसरी सफल बनाउने भन्ने विषयमा आफ्नो ध्यानकेन्द्रित भएको बताइन् । उनले खासमा महोत्सवमा सधैँ एउटै कुरामात्र पाइने भन्ने सोच बनेकोले यसपटकको महोत्सव केही खास होस् भन्ने आफूले चाहेको पनि बताइन् ।
रत्ननगर महोत्सव २०७६ को, मुख्य प्रायोजक होटल सेभेन स्टार, सौराहा, चितवन, आधिकारी बैंक सिन्धु विकास बैंक लि, आधिकारिक बिमा नेको इन्स्योरेन्स कलि, आधिकारिक पानी ओम जल उद्योग, खैरहनी, चितवन, टिकट सौजन्य बालाजी सिमेन्ट ईण्डष्ट्रिज प्रालिको बाहुवली (पूर्वि चितवनको आधिकारी विक्रेता : सम्पर्क हार्डवेयर एण्ड सेनेटरी, जयमंगला) प्रवेशद्धार सौजन्य: दुगर्ड स्पाईस एण्ड फुड प्रोडक्ट प्रालि (सेन्चुरी मसला) र अटो परिसर सौजन्यः निशास मोर्टस (बजाज मोटरसाईकलको आधिकारिक विक्रेता), कृषि परिसर सौजन्यः कालिका नगरपालिका कार्यालय, कालिका, सहयोगी संस्थाः ग्लोबल आईएमई ग्रुप, प्रवद्र्धकको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला समन्वय समिति, चितवन, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, चितवन रहेको छ । यस पटकको टिकट शुल्क सर्वसाधारणतर्फ रु ५०।— र विद्यार्थी शुल्क रु २५।— राखिएको र जेष्ठ नागरिक र फरक क्षमता भएको नागरिकलाई परिचयपत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायव उपरीक्षक भावेश रिमाल, संघका पूर्वअध्यक्ष दीपक कर्माचार्य, केशवनारायण श्रेष्ठ, होटल एसोसिएसन अफ नेपाल सौराहाका उपाध्यक्ष योगेश अधिकारी, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संघका महासचिव निराजन खनालले सञ्चालन गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले कार्यक्रमको समापन गर्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
रत्ननगर महाेत्सब २०७६पत्रकार सम्मेलनअायाेजक: रत्ननगर उद्योग वाणिज्य संघमिति: पाैष २५ देखि माघ ७ गते सम्मस्थान: रत्ननगर नगरपालिका, टिकाैलि चाैर, चितवन
Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Mittwoch, 4. Dezember 2019