-हृदयेन्द्र अनुरागी

काठमाडौँ । भरतपुर महानगरको वडा नं ९ मा रहेको गोन्द्राङ ढाट प्रकरणका नौ आरोपितले सफाइ पाएका छन् ।

२०७६ जेठ ३ गते ढाट स्थानान्तरण गर्नुपर्ने विषयमा आक्रोशित पूर्वी चितवनका स्थानीय तथा व्यवसायीहरुले ढाटमा आगजनी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय चितवनमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

उक्त घटनामा दोषी रहेको भन्दै ठाटका ठेकेदार अमृत भट्टचन र प्रहरी निरीक्षक राजकुमार थापाले उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी, खिलप्रसाद घिमिरे, कुलप्रसाद शर्मा, रामचन्द्र पाठक, विष्णु लम्साल, सरोज तिमल्सिना, विजय खनाल र विष्णु ढुंगानाविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेका थिए । मुद्दाका नौ आरोपितले सफाइ पाएका छन् ।

पूर्वी चितवनका स्थानीय एवम् व्यवसायीहरु सदरमुकाम भरतपुर आउजाउ गर्दा ढाटमा लिने दस्तुरका विषयमा विवाद उत्पन्न हुँदा आक्रोशित भीडले ढाटमा आगजनी गरेको थियो । उक्त प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत असई कल्पना खड्का जलेर घाइते भएकी थिइन् । उनी चितवन मेडिकल कलेज भरतपुरमा लामो उपचारपश्चात् डिस्चार्ज भएकी थिइन् । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रदेश सांसद कृष्ण खनालकै उपस्थितिमा भएको भनिएको घटनामा आगोले जलेर ड्यूटीमा खटिएकी महिला प्रहरी कल्पना खड्का घाइते भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा प्रजिअ जितेन्द्र बस्नेतको अध्यक्षतामा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले राजनीतिक आधारमा कसैलाई पनि संरक्षण नगर्ने गरी कारबाही गर्न सहमति भएको थियो । तत्कालीन चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सांसदकै उपस्थितिमा जघन्य अपराध भएको भन्दै यस्ता गतिविधि सह्य नहुने बताएका थिए ।

बैठकमा सांसद घनश्याम दाहाल, गीता वाग्ले, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, नेकपाका नेता तेजेन्द्रबहादुर खड्का, कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको उपस्थितिमा सर्वपक्षीय छलफलमा पाँच बुँदे निर्णय गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा मंसिर ४ गते भएको फैसलामा घटनाबारे लामो समयदेखि सुक्ष्म अनुसन्धानबाट निजहरुको संलग्नता पुष्टि नभएकाले मुद्दाका आरोपित सबैले सफाइ पाएको प्रशासनका मुद्दा शाखाका नायब सुब्बा बाबुराम पराजुलीले जानकारी दिए ।

यसैबीच, सो घटनामा आफ्नो कुनै संलग्नता नरहे पनि अनावश्यकरुपमा मुद्दा खेप्नुपरे पनि न्यायको पक्षमा फैसला भएकोमा न्यायको जीत भएको उवासंघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले बताए ।

स्मरणरहोस्, सो ढाट राप्ती नगरपालिका वडा नं ४ स्थित डडुवामा स्थानान्तरण हुनुपर्ने भन्दै चौतर्फीरुपमा आवाज उठेको थियो । ढाट प्रकरणमा सांसदको समेत संलग्नता रहेको आरोप लागेपछि प्रदेश सांसद् कृष्णप्रसाद खनालले आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएका थिए । उनले जेठ ३ गते दासढुंगामा मदन-आश्रितको स्मृति दिवस कार्यक्रममा गएर फर्किंनेक्रममा आफू ढाटमा आइपुगेको बेला घटना भएको स्पष्टोक्ति दिएका थिए ।

सो प्रकरणपश्चात् ढाट सार्ने विषयले संसदमा समेत प्रवेश पाएको थियो । ढाट प्रकरणले चितवनका सांसदहरुको समेत टाउको दुखाएको थियो । सो प्रकरणलाई कतिपयले राजनीतिक रंग दिने र आफ्नो अभीष्ट पूरा गर्ने दाउ पनि गरेका थिए । चितवनका सांसद् एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत ढाट सार्ने विषयमा पहल भइरहेको बताएका थिए ।

गोन्द्राङ ढाट प्रकरणका नौ आरोपितले सफाइ पाएसँगै सो घटनाको टाउको दुखाइ अन्त्य भएको छ भने ढाट सार्ने अभियानका लागि भने थप बल पुगेको छ ।

तपाईको प्रतिक्रिया