कावासोती । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काली पूर्वको भूभाग नेपाली भूमि भएको बताएका छन् ।

नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले काली पूर्वको कालापानीसहितको भूभाग नेपालको भएको बताए ।

महाकाली सन्धिमा समेत स्पष्ट रुपमा महाकाली नदी सीमा नदी र पानी आधाआधा भनी स्पष्ट किटान गरिएको बताउँदै उनले यसको पूर्वको भूभाग नेपालको भएकोे बताए ।

भारतले काली नदी र नेपालले महाकाली भन्ने गरिएको नदी नै सीमा नदी भएको हुँदा यस पूर्वको भाग नेपालको भएको उनले बताए ।

सभापति देउवाले अंग्रेजले छापेको नक्सामा काली नदी र तिब्बती नक्सामा कुटियाङ्दी नदी भन्ने गरेको नदीनै महाकाली नदी भएको बताउँदै यसैलाई सीमा नदी मानेको हुँदा यस पूर्वको भाग नेपालको भएको बताए ।

सभापति देउवाले भारतले नक्सा छापेर कालीपानी आफ्नो भनेकोमा यसको विरोध सरकारले कडा रुपमा गर्नुपर्ने बताए ।

उनले आफूहरु सबैले यस विषयमा अगाडि बढ्नुस् भनेर सरकारलाई भनेको भए पनि सरकारले अग्रसरता नदेखाएको आरोप लगाए । प्रेस स्वतन्त्रता नभएसम्म प्रजातन्त्र टिक्न नसक्ने बताउँदै उनले भने, “यसकारण प्रेस स्वतन्त्रता हुनुपर्छ ।”

उनले प्रेसमाथि हुने हमला भनेको प्रजातन्त्र माथिको हमला भएकोसमेत बताए ।

कार्यक्रममा सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पुरस्कारबाट पत्रकार किशोर नेपाललाई सम्मानसमेत गरिएको थियो ।

प्रेस युनियन नवलपुरले १५ वर्षअघि स्थापना गरेको पुरस्कारले यस वर्ष नेपाललाई प्रदान गरिएको हो । सभापति देउवाले सो पुरस्कार हस्तान्तरण गरेका थिए ।

नेपाललाई रु २५ हजार र ताम्रपत्रले सम्मान गरिएको प्रेस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले बताए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सूर्यभक्त र उनका धर्मपत्नी पतनादेवीको स्मृतिमा छोरा मदनभक्त अधिकारीले राखेको अक्षयकोष रकमबाट हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गरिँदै आइएको छ ।

तपाईको प्रतिक्रिया