
-हृदयेन्द्र अनुरागी
चितवन – भरतपुर अस्पतालमा शुक्रबार नर्सहरुको लापरबाहीका कारण एक सुत्केरीको ज्यान गएको छ । ड्युटीमा खटिएका नर्सहरुले सुत्केरीको पीडालाई बेवास्ता गरेका कारण गोरखा पालुङटार–९, मिर्कोटकी २४ वर्षीया कल्पना केसीको मृत्यु भएको हो ।
उनी सोलुखुम्बु जिल्लामा कार्यरत थिइन् । सोलुखुम्बुदेखि स्तरीय प्रसूति सेवाका लागि भरतपुर आउँदा सुत्केरीको लागि भएको अप्रेसनपछि पेटमा थप पीडा भएका कारण अकालमा ज्यान गएको हो ।
सुत्केरी महिलाले आफूलाई असह्य पीडा भएको भन्दै डाक्टर बोलाइदिन ड्युटीमा रहेका नर्सहरुलाई आग्रह गरे पनि तीन घन्टासम्म पनि नर्सबाट डाक्टरलाई खबर नहुँदा सुत्केरीको अकालमा ज्यान गएको मृतकका आफन्त प्रकाश भट्टले बताए ।
‘बिरामी आफैँले मलाई धेरै गाह्रो भयो भनिन्, डाक्टर बोलाइदिनुस् पनि भनिन्, आफन्त भट्टले भने, तर ड्युटीमा भएका नर्सले पेट दुखेकाले ग्याष्ट्रिक भएको भन्दै औषधि चलाइदिए ।’
राति १२ बजेतिर नै अति पीडा भएपछि बिरामी आफैँले डाक्टर बोलाउन आग्रह गरेकोमा नर्सहरुले भने बिहान ३ बजेमात्रै डाक्टर बोलाएका थिए । नर्सले समयमै डाक्टरलाई खबर नगरेका कारण घटना भएको पीडित पक्षको भनाइ छ ।
बच्चाको भने हाल नारायणी सामुदायिक अस्पतालमा एनआईसीयू कक्षमा उपचार भइरहेको छ । पुस ५ गते बच्चा जन्मने मिति तोकिएको थियो । तर, मंसिर १६ गते नै एम्बुलेन्समार्फत बिरामीलाई काठमाडौँ हुँदै भरतपुर अस्पताल ल्याइएको थियो । भरतपुर अस्पतालमा राम्रो सुत्केरी सेवा रहेको विश्वासमा परी काठमाडौँ छोडेर पनि यहाँ ल्याएको आफन्तको भनाइ छ ।
उच्च रक्तचापबाट पीडित बिरामीको नियमित औषधि सेवनबाट सुत्केरी गराउन हुने भनी डाक्टरकै सल्लाहमा बिहीबार राति ११ बजे अप्रेसन गरिएको थियो ।
अप्रेसन सफल भई पोस्टअप वार्डमा सुत्केरी राखिएको र एनआईसीयू बेड सरकारी अस्पतालमा नहुँदा बच्चालाई नारायणी सामुदायिक अस्पताल लगिएको स्त्रीरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेलले बताए । मुटुमा सहजरुपमा रक्तसञ्चार हुन नसक्दा सुत्केरीको मृत्यु भएको उनको भनाइ छ ।
यसैबीच, भरतपुर अस्पतालमा नर्सहरुका कारण सुत्केरीको मृत्यु भएपछि अस्पतालमा छलफल भइरहेको छ । छलफलका क्रममा नर्सहरुले समयमै डाक्टरलाई खवर नगरेकोप्रति गल्ती स्वीकार गरेको छलफलमा सहभागी आफन्त प्रकाश भट्टले बताए । तर, मृतकका आफन्तले मेसु डा. श्रीराम तिवारी काठमाडौँबाट फर्किएपछिमात्रै छलफल गर्ने भनेपछि साँझ ६ बजे पुनः छलफल भएको थियो ।
छलफलका क्रममा मृतकका आफन्तले समयमै डाक्टर नबोलाई उपचार गराउने नर्सहरुलाई तत्काल निलम्बन गरी घटनाको विस्तृत अनुसन्धान गर्नुपर्ने बताएका छन् । मेसु डा तिवारीले बच्चाको सबै उपचार अस्पतालले गर्ने र पीडित पक्षसमेत सहभागी भएको एउटा अध्ययन समिति बनाउने निर्णय गरेपछि सहमति भएको छ ।