चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा भयानक अटो दुर्घटना भएको छ । दुर्घटनामा अटोमा सवार ५ जनाको मृत्यु भएको छ भने र १ जना सख्त घाईते भएको जनाईएको छ । आज (शनिवार) साझ ६ः१५ मा दुर्घटना भएको हो भने बेलुका ७ः३० मा अस्पतालले ५ जनाको मृत्य भएको घोषणा गरेको थियो । चालक खैरहनी ३ बस्ने २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा पर्बत जिल्ला कुश्मा नगरपालिका पिपलटारी स्थायी घरभई हाल चितवन खैरहनी न.पा.–८ बस्ने बर्ष ४९ का श्याम प्रसाद तिवारी, राप्ती नगरपालिका वडा नम्बर ९ निवासी बर्ष २५ वर्षकी मीना खड्का, अन्दाजी ३२ बर्षकी माया तामाङ , खैरहनी वडा नं. ९ बस्ने ४२ बर्ष का बिश्वमणी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनिहरुको पुरानो मेडिकलमा उपचारको लागि लगिएकोमा अस्पतालले तुरुन्तै मृत घोषित गरेकोे थियो । यसबाट पनि दुर्घटना कस्तो भयानक थियो होला भन्ने सहजै पुष्टि हुन्छ ।
त्यस्तै भरतपुर सरकारी अस्पतालमा मृत्यु भएकी अन्दाजी ३५ बर्षकी एक महिलाको अहिले सम्म पनि सनाखत हुनसकेको छैन । मृतक सबैको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्ष शुसिल पाण्डेले नेपालीको आवाज डटकमलाई जानकारी दिए अनुसार भण्डारा बजारबाट केहि किलोमिटर उत्तरमा चेपाङ राजमार्ग अन्तर्गत चौकी डाँडाको ओरालो क्षेत्रमा ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना मा परेको थियो । उनले दुर्घटना भएको स्थानमा स्थिती भयानक देखिएकोे र ओभर स्पिडनै दुर्घटनाको कारण भएको बताए ।
पाण्डेले अहिले दुर्घटना हुनको कारण बारे अनुसन्धान भईरहेको बताउदै प्रारम्भिक अनुमान अनुसार पहाडी क्षेत्र अमृतपानीबाट अटो आएको हुन सक्ने र यात्रुहरु पर्सा वा रसौली तिरको हुन सक्ने बताए ।
प्रहरीले घाइतेको उद्धार गर्दै तत्काल ४ जनालाई दुईवटा एम्बुलेन्समा र २ जनालाई प्रहरी भ्यानमा राखि पर्सासम्म लगि त्यहाबाट अर्को एम्बुलेन्सको ब्यवस्था गरि पुरानो मेडिकल कलेज र भरतपुर सरकारी अस्पताल पुर्याएको थियो । ओरालो सडकमा तिव्र गतिका कारण अनियन्त्रित भई अटो पहरामा ठोकिएर दुर्घटना भएको जनाईएको छ ।