
चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि आयोजित श्रीमद्भागवत् महापुराण धनधान्याचल विराट ज्ञानमहायज्ञ शनिबार सम्पन्न भएको छ ।
मंसिर १३ गतेदेखि भरतपुर १२ स्थित पोखरेली टोलमा आयोजित महायज्ञको प्रदेश सांसद् विजय सुवेदीले समापन गरेका हुन् ।
समापन समारोहमा प्रमुख अतितिसमेत रहेका सांसद् सुवेदीले स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता राज्यले निःशुल्क प्रदान गर्नुपर्ने भए पनि संस्थाहरुले त्यसको जिम्मा लिनु सुखद विषय भएको बताए । पछिल्लो समय वैदिक सनातन धर्म हराउँदै गएको अवस्थामा संस्कृत शिक्षामार्फत् यसको संरक्षण र संवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
महायज्ञबाट शनिबार अन्तिम दिनसम्म एक करोड ९ लाख रुपैयाँ संकलन भएको महायज्ञ आयोजक समितिका सहसचिव उद्धव सञ्जेलले बताए । उनका अनुसार शनिबारमात्रै ओम शिवशक्ति कल्याणी केन्द्रका संस्थापक महासचिव लक्ष्मणसिंह श्रेष्ठले १० लाख रुपैयाँ प्रदान गरेका छन् ।
महायज्ञबाट संकलन भएको रकमबाट पवित्र तीर्थस्थल देवघाटधाममा १२ रोपनी क्षेत्रफलमा आवाससहितको कन्या गुरुकुल सञ्चालन गर्ने तयारी गरिएको महायज्ञ मूलसमिति संयोजक रवीन्द्र अधिकारीले जानकारी दिए ।
कन्या गुरुकुलको निर्माण सम्पन्न गर्न करिब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ गराइने अधिकारीले बताए । गुरुयोजनाअनुसार सम्पूर्ण निर्माण सम्पन्न गर्न २० करोड रुपैयाँ लाग्ने भए पनि पहिलो चरणमा चार करोड रुपैयाँ भएपछि कक्षा सञ्चालन गर्न सकिने अधिकारीको भनाइ छ ।
महायज्ञमा बाल ब्रह्मचारी पण्डित श्यामशरण अधिकारीबाट पाठपारायण, धर्म दर्शन एवम् पुराणका प्रवक्ता धर्माचार्य कृष्णप्रसाद गुरागार्इंबाट कथा प्रवचन तथा विशिष्ट साधु सन्त महात्मा तथा जगतजननी शिवशक्ति स्वरुपा कल्याणीबाट आशिर्वचन प्रदान भएको थियो ।