चितवन । चितवनको राप्ती ४ स्थित चेपाङ मार्गअन्तर्गत चौकीडाँडाको ओरालोमा आफैँ अनियन्त्रित भई ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मृतकमध्ये चार जनाको सनाखत भएको छ । एक जनाको भने अझै पहिचान खुल्न सकेको छैन । अटोका चालक खैरहनी ३ बस्ने २६ वर्षका मणिराम गिरी भने गम्भीर घाइते छन् ।

दुर्घटना परी मृत्यु हनेमा पर्वत जिल्ला कुश्मा नगरपालिका पिपलटारी स्थायी घर भई हाल चितवनको खैरहनी नगरपालिका ८ बस्ने वर्ष ४९ का श्यामप्रसाद तिवारी, राप्ती नगरपालिका वडा नं ९ की वर्ष २५ की मीना खड्का, अन्दाजी ३२ वर्षकी माया तामाङ , खैरहनी ९ बस्ने ४२ वर्षका विश्वमणि भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुको पुरानो मेडिकलमा उपचारको लागि लगिएकोमा अस्पतालले तुरुन्तै मृत घोषित गरेको थियो । त्यस्तै भरतपुर सरकारी अस्पतालमा मृत्यु भएकी अन्दाजी ३५ वर्षकी एक महिलाको अहिलेसम्म पनि सनाखत हुनसकेको छैन । मृतक सबैको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

६ जना सवार अटो शनिबार भण्डाराबजारबाट केही किलोमिटर उत्तरमा पर्ने चेपाङ मार्गअन्तर्गत चौकीडाँडाको ओरालो क्षेत्रमा साँझ ६ः१५ मा दुर्घटनामा परेको थियो । घाइतेलाई तत्काल अस्पताल लगिएकोमा बेलुका ७ः३० मा नै अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । अहिले चालक खैरहनी ३ बस्ने २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा तत्काल पुगेका इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुशील पाण्डेले नेपालीको आवाज डटकमलाई जानकारी दिएअनुसार चौकीडाँडाको ओरालो क्षेत्रमा ना १ ह ६४०९ नम्बरको अटो दुर्घटनामा परेको थियो । उनले दुर्घटना भएको स्थानमा स्थिति भयानक देखिएको र तीव्र गति नै दुर्घटनाको कारण भएको बताए । प्रनि पाण्डेले अहिले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताउँदै प्रारम्भिक अनुमानअनुसार पहाडी क्षेत्र अमृतपानीबाट अटो आएको हुनसक्ने बताए ।

प्रहरीले घाइतेको उद्धार गर्दै तत्काल चार जनालाई दुईवटा एम्बुलेन्समा र दुई जनालाई प्रहरी भ्यानमा राखेर पर्सासम्म लगि त्यहाँबाट अर्को एम्बुलेन्सको व्यवस्था गरी पुरानो मेडिकल कलेज र भरतपुर सरकारी अस्पताल पुर्‍याएको थियो । ओरालो सडकमा तीव्र गतिका कारण अनियन्त्रित भई अटो पहरामा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया