-हृदयेन्द्र अनुरागी

चितवन । नारायणी नदीमा चिसो हावामा कावा खाँदै मौलाकालिका मन्दिरदेखि सुन्दर पर्यटकीय क्षेत्रको अवलोकन गर्दै पानीजहाज चढ्ने रहर अब भने संघारमै आइपुगेको छ ।

नेपालमा पानीजहाज चलाउने सपनालाई मूर्तरुप दिन चितवनका युवा लागिपरेका छन् । भलै समुद्रमा पानी जहाज चलाउन नसकिए पनि नारायणी नदीमा भने क्रुज सिप अर्थात् मिनी पानीजहाज भने भ्रमण वर्ष सन् २०२० देखि चलाइने भएको छ ।

चितवनको राइनो इन्टरटेन्मेन्ट कम्पनीले भरतपुर१६ स्थित काभ्रेघाटमा ‘पोर्ट’ राखेर पर्यटकीय प्रयोजनका लागि क्रुज सिप चलाउने भएको हो । कुल १५ करोड रुपैयाँको लगानीमा भारतको केरलास्थित एक कम्पनीले निर्माण गरिरहेको क्रुज सिपको काम अन्तिम चरणमा पुगेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार अब सिपमा रंग लगाउने काम बाँकी छ । कम्पनीले गोलाघाटदेखि देवघाटसम्म ३८ किलोमिटर दुरीमा पानीजहाज सञ्चालनको अनुमति लिएको छ ।

कँडेलका अनुसार मिनी पानीजहाजको उद्घाटन सन् २०२० जनवरी १ अर्थात् अबको तीन सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गराउने तयारी भइरहेको छ ।

प्रतिघन्टा ४० किलोमिटरको गतिमा चल्ने निर्माणाधीन सिप साढे तीन तल्लाको हुने छ । जसमा २० जना क्रुज कर्मचारीसहित २२० यात्रुले शयर गर्न सक्नेछन् । मिनी बारसमेत रहेको क्रुजमा सिफ्टअनुसार ब्रेकफास्ट, लन्च र डिनर सुविधाका साथै मनोरञ्जनसमेत प्राप्त गर्न सकिने छ ।

क्रुजमा वेटरदेखि सेक्युरिटी गार्ड र रेस्क्यु टिम हुनेछ । विशेषगरी भ्रमण वर्ष २०२० का लागि यो क्रुज स्वदेशी तथा विदेशी पर्यटकका लागि बरदान नै सावित हुने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया