चितवन- बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण सुरु गरिएको छ ।

प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

महानगरपालिकाको वडा नं २ मा कृषि प्रवद्र्धन बजार विकास प्रालिले सञ्चालन गरेको महानगर फलफूल तथा तरकारी बजारमा प्रयोगशाला स्थापना गरिएको हो ।

कृषि ज्ञानकेन्द्रका प्रमुख राजन ढकालका अनुसार प्रयोगशालामा परीक्षण थालिएको छ । केही दिनमा औपचारीक उद्घाटन गरी नियमीत परीक्षणसमेत गरिने उनले जानकारी दिए ।

प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक आठ÷दशवटा फरक–फरक ठाउँबाट नमूना लिएर परीक्षण गर्नेछ ।

एउटा परीक्षण गर्न आधा घन्टा हाराहारी लाग्ने गर्दछ । परीक्षण गर्दा खान अयोग्य देखिएमा बिक्री गर्न बन्देज लगाइने छ ।

ढकालका अनुसार यो विधिलाई स्टेक्टोफोटो मिटर भनिन्छ । त्यसमा ३५ प्रतिशत भन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ । पैतालिस प्रतिशत भन्दा बढी भएमा अखाध्य मानिन्छ ।

प्रारम्भिक रुपमा गरिएका परीक्षणमा बोडी र भन्टामा बढी विषादी पाइएको उनले जानकारी दिए । प्रदेश सरकारको उपकरण, कृषि प्रवद्र्धन बजार विकास प्रालिको स्थान, महानगरपालिकाको स्थानको व्यवस्थापन एवं आवश्यक केमिकलसँगै कृषि ज्ञान केन्द्र र महानगर मिलेर कर्मचारी व्यवस्थापन गरेका हुन ।

परीक्षण हुने भएकाले कम विषादी प्रयोग गर्न कृषकलाई भनिएको महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले बताए ।
उनका अनुसार बजारमा दैनिक १५० टन तरकारी र ५० टन हाराहारी फलफूल आउने गर्दछ ।

नेपाल, चीन र भारतबाट फलफूल र तरकारी यहाँको बजारमा आउँछ । ती फलफूल तरकारी २५ भन्दा बढी जिल्लामा पुग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया