
चितवन- भरतपुर महानगर-१ स्थित आँपटारीमा आइतबार राति बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीको ठक्करबाट ना ५५ प १४२५ नम्बरको मोटरसाइकलमा सवार प्रहरी हबलदारको मृत्यु भएको छ ।
निजगढबाट मकै बोकेर काठमाडौँ जाँदै गरेको बोलेरोले इलाका प्रहरी कार्यालय रामनगरमा थप मद्दतको ड्युटी सकी भरतपुरतर्फ फर्किरहेका ३५ वर्षीय प्रहरी हबलदार यदुप्रसाद पाठक सवार मोटरसाइकललाई राति ११ बजेतिर ठक्कर दिँदा पाठकको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मोटरसाइकललाई ठक्कर दिने बोलेरो र बोलेरो चालक धादिङ गजुरी बस्ने २२ वर्षीय दीपक तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।
धादिङ जिल्ला नीलकण्ठ नगरपालिका १० मा घर भएका पाठकका आफन्तहरु चितवन आइपुगेका छन् । यससँगै चितवनमा साउनयता बोलेरोको ठक्करबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।
यसअघि कार्तिक २८ गते इच्छाकामना गाउँपालिका ६, जलविरेमा बा १० च ४४१३ नम्बरको बोलेरोको ठक्करबाट बा ६६ प २९६५ नम्बरको मोटरसाइकलमा सवार भरतपुर ६ का रोशन सापकोटाको मृत्यु भएको थियो ।
त्यसअघि भदौ २२ गते कालिका नगरपालिकाको शक्तिखोरमा ना ४ च २५५८ नम्बरको बोलेरोले पैदलयात्री स्थानीय ४ वर्षीय बालक अमित मियाँलाई ठक्कर दिँदा मियाँको मृत्यु भएको थियो ।
भदौ १६ गते भरतपुर १० मा ना ५५ प १३३७ नम्बरको स्कुटरलाई ठक्कर दिएर भागेको ना ३ च ९११९ नम्बरको बोलेरोले भरतपुर १९ मा ना ४५ प ३४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पालसिंह तामाङको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
गत आव २०७५/७६ मा बोलेरोले ठक्कर दिएको छवटा घटनामा ७ जनाको मृत्यु भएको थियो । बोलेरो चालकहरुले मादक पदार्थ सेवन गर्ने एवम् तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।