काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल खेलमा नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीले भुटानलाई हराउँदै स्वर्ण पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गदै स्वर्ण पदक जितेको हो ।

नेपालले सागअन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो पटक स्वर्ण जितेको हो । यसअघि सन् २०१६ मा भारतमा भएको सागमा पनि नेपालले स्वर्ण पदक जितेको थियो ।

नेपालको जितमा अभिषेक रिजाल र सुनिल बलले गोल गरे ।

भुटानका लागि भने चेन्चो ग्यालसेनले गोल गरे । खेलको १६ औँ मिनेटमा अभिषेकले करिब ६ यार्ड बक्स नजिकबाट गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएका थिए ।

उनी विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गर्न सफल भए ।

त्यस्तै खेलको ३६ औँ मिनेटमा भुटानले बराबरी गोल फर्कायो । भुटानका ग्याल्सेनले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको मध्यान्तरअघि १–१ गोलको बराबरीमा पुगेको नेपालले मध्यान्तरपछि एक गोल थप्दै नेपाललाई स्वर्ण पदक दिलाए ।

खेलको ५४ औँ मिनेटमा सुनिलले दायाँ विङ्गबाट आएको क्रसलाई हेडमार्फत गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाए । सागमा पहिलो पटक फाइनलमा पुगेको भुटानले रजत पदकमा चित्त बुझायो ।

यस खेलसँगै साग सम्पन्न भएको छ । १३औँ सागमा नेपालले ५१ स्वर्ण पदक जित्दै प्रतियोगिता सम्पन्न गरको छ ।

तपाईको प्रतिक्रिया