महेश पाण्डे
चितवन । माध्यामिक तहको शिक्षा ब्यवस्थापन गर्न चितवनका सात स्थानिय तह सहमत भएका छन् । जसको फल स्वरुप कालिका घोषणा पत्र–२०७६ जारी गरिएको छ । यस अघि गत श्रावण २७ गते सौराहामा जारी भएको सौराहा घोषणा पत्र–२०७६ मा १९ बुंदा रहेकोमा त्यसमा थप २ बुंदा थप गरि २१ बुदे प्रतिबद्धता सहित कालिका घोषणा पत्र–२०७६ जारी गरिएको हो ।

कालिका नगरपालिकाको आयोजनामा आज (बुधवार) खोलेसिमलमा भएको कार्यक्रममा उपस्थित सात वटै स्थानिय तहका प्रमुख, शाखा प्रमुख तथा सरोकारवालाहरुको अन्र्तक्रिया पश्चात कालिका घोषणा पत्र–२०७६ जारि गरिएको कार्यक्रमका सभापति तथा कालिका नगरपालिकाका नगर प्रमुख खुम नारायण श्रेष्ठले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

उनले शिक्षक सरुवामा आउने समस्या समाधान गर्न, शिक्षा नितिमा एकरुप कायम गर्न, चितवन जिल्लामा रहेका सात वटै स्थानिय तहको शिक्षा क्षेत्र बिचमा एक रुपता ल्याउन, पुरानो ढंगबाट चलेको शिक्षा प्रणालीलाई नया ढंगबाट अगाडी बढाउन, बिद्यार्थी र अभिभावकलाई शिक्षा प्रतिको आकर्षण बढाउन साथै २–३ महिनामा सबै स्थानिय तहले गरेको कार्य अनुभवलाई एक आपसमा शैक्षिक जानकारी आदान प्रदान गर्न सो घोषणा र कार्यक्रम निकै महत्वपुर्ण हुने बताए ।

श्रेष्ठले यस अघि सौराहामा जारि भएको सौराहा घोषणा पत्र–२०७६ को १९ बुंदा मध्य केहि कार्यन्वयनमा आई सकेको र केहि आउन बांकी रहेको भएतापनि थप २ बंदा थप गरि यसलाई अझ ससक्त ढंगबाट अगाडि बढाउन लागिएको जानकारी दिए । अहिले थपिएको २ वटा बुंदा मध्ये २० नं. बुंदामा सबै स्थानिय तहको स्थानिय आवश्यकता र ब्यवहारीकतालाई आधारमानि साझा स्थानिय पाठ्यक्रम तयार पार्न कार्यदल बनाई कार्य गर्ने र २१ नं. बुंदामा संघीय सरकारबाट निर्धारण भई आउने दरवन्दी मिलान गर्ने र विद्यालयको नक्साङ्गनका आधारहरुसंग नबाझिने गरि स्थानिय तह कार्यन्वयनका लागि मापदण्ड निर्धारण गरी कार्यन्वयनमा ल्याउने रहेको श्रेष्ठले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ३ का सांसद घनश्याम दाहालले चितवनका स्थानिय तहहरुले एक भएर हातमा हात मिलाएर शिक्षा क्षेत्रमा एकरुपता ल्याउन खोजेकोमा खुसी ब्यक्त गर्दै सो कार्यमा प्रदेश सरकारको तर्फबाट गर्नु पर्ने जुनकुनै सहयोग गर्न आफहरु तयार रहेको बताए ।
कार्यक्रममा कालिका नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मीले सबैलाई स्वागत मन्तब्य राख्दै चितवनका ७ वटै स्थानिय तहको साझा प्रतिबद्धताबाट मात्र समग्र चितवनको शिक्षा क्षेत्र माथि उठ्ने बताए ।

सो कार्यक्रममा कालिका नगरपालिकाका शिक्षा शाखा प्रमख नारायण प्रसाद वाग्लेले कालिका नगरपालिकाको वर्तमान शैक्षिक अवस्थाका बारेमा आगन्तुकहरुलाई जानकारी दिएका थिए । उनले हालका दिनमा नगरभित्र ३५ वटा सामुदायीक र ११ वटा संस्थागत गरि ४६ वटा बिद्यालय र १ वटा क्याम्पस सञ्चालनमा रहेको जानकरी दिए । उनले हाल नगर भित्र करिब १२ हजार २ सय ७४ जना बिद्यार्थीहरु अध्ययन गरिरहेकोमा ८ हजार २ सय २३ जना सामुदायीक बिद्यालयमा अध्ययन गरिरहेको जानकारी दिए । वाग्लेले नगरभित्र २१६ जनाकोे शिक्षक दरबन्दि रहेकोमा हाल शिक्षक अभाव भईरहेको बताउदै बिद्यार्थीहरुले कक्षाहरु छोड्ने अवस्था निकै बढिरहेको देखिएको बताए ।

उनले भौगोलिक, जातीय, सांस्कृतीक, धार्मीक तथा भौतिक सुविधा नहुनु, शिक्षक दरबन्दीको असमान बितरण, अंग्रेजी माध्यमको माग तर पठनपाठनको गुणस्तरीयतामा ह्रास, बिद्यालयको नियमीत निरीक्षणमा कमि, प्रधानाध्यापक तथा शिक्षकको कार्य सम्पादनको स्तर कमजोर, बिद्यालय छाड्ने र दोहोर्याउने दर बढि, प्राविधीक शिक्षा र तालिमको कमि, वातावरणको अभाव, कार्य सञ्चालनमा ढिला सुस्ती लगाएतको समस्याहरु कालिका नगरपालिकाको शैक्षिक क्षेत्रमा देखिएको महत्वपुर्ण समस्या रहेको जानकारी दिए ।

सो कार्यक्रममा उपस्थित सबैलाई नेपाल सरकारका शिक्षा तथा मानव श्रोत विकास केन्द्रका उप–महानिर्देशक तथा सह सचिव बिष्णु प्रसाद अधिकारी तथा शिक्षा विद रमाकान्त सापकोटाले सहजिकरण गरेका थिए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, उप प्रमुख बिमला दुवाडी, रत्ननगर नगरपालिकाका सामाजिक बिकास समिति संयोजक तथा वडा नं. १० का वडा अध्यक्ष केशव आचार्य, रत्ननगर नगरपालिकाका शिक्षा मस्यौदा समिति संयोजक तथा वडा नं. २ का वडा अध्यक्ष तिलक राज शर्मा, राप्ति नगरपालिकाकी सामाजिक बिकास अधिकृत पुष्प केसी कुवर, खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल, भरतपुर महानगर पालिकाका शिक्षा शाखा प्रमुख सिताराम कोइराला, रत्ननगर नगरपालिकाका शिक्षा शाखा प्रमुख बद्रि नारायण शर्मा, ईच्छा कामना गाउपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा देवी खड्का, कालिका नगरपालिकाका शाखा अधिकृत ऋषीराम शर्मा, कालिका नगरपालिकाका सुचना प्रविधि अधिकृत घनश्याम बास्तोला, नेपाल शिक्षक संघ कालिकाका अध्यक्ष मदन खनाल, कालिका नगरपालिकाका शिक्षा समिति सदस्य चित्र बहादुर रायमाझी, भिमोदय मा.बिका प्रधानाध्यापक हरि प्रसाद कंडेल लगाएतको उपस्थिती रहेको थियो ।

यस्तो छ आजको कालिका घोषणा पत्र-२०७६




तपाईको प्रतिक्रिया