
महेश पाण्डे
आज “अटोको त्यो ओभर स्पिड जसले पाँचै जनालाई एकै चिहान बनायो” शिर्षकमा केहि कुरा लेख्न मन लाग्यो । गत मंसिर २१ गते शनिवार सांझ ६ः१५ मा भण्डारा बजारबाट केहि किलोमिटर उत्तरमा पर्ने चेपाङ राजमार्ग अन्तर्गत चौकी डाँडाको ओरालो क्षेत्रमा ६ जना सवार ना १ ह ६४०९ नं. को अटो दुर्घटनामा पर्यो । जसमा ५ जनाको ज्यान गयो भने १ जना चालक खैरहनी ३ बस्ने २६ वर्षका मणिराम गिरी गम्भिर घाइते भए । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
सो सांझ जब दुर्घटनाको खबर प्राप्त भयो हाम्रो मन बेचयन थियो । केहि अनलाईनमा ४ जनको मृत्यु भएको सर्वसाधरणको भनाई भनेर पनि आइसकेको थियो । तर हामीलाई भने ब्रेकिङ्ग न्युज भन्दा पनि बास्तबिकता के हो र कसरी दुर्घटना भयो ? भन्ने जानकारी लिन मन थियो त्यसैले हामीले तत्कालै ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक शुसिल पाण्डेलाई फोन गर्यौ । उनले हामीलाई फोन मार्फत घटनाको बारेमा जानकारी दिदै भने “दुर्घटना निकै भयानक छ, सायद धेरैको बाच्ने आशा त्यती देख्दीन म, हामीले अस्पताल पठाई सकेका छौ, अवस्था के छ पछि थाहा होला ।”
उनले तत्काल ४ जनालाई दुईवटा एम्बुलेन्समा र २ जनालाई प्रहरी भ्यानमा राखि पर्सासम्म लगेर त्यहाबाट अर्को एम्बुलेन्सको ब्यवस्था गरि पुरानो मेडिकल कलेज र भरतपुर सरकारी अस्पताल पुर्याएको जानकारी पनि दिएका थिए । उनले ओरालो सडकमा तिव्र गतिका कारण अनियन्त्रित भई अटो पहरामा ठोकिएर दुर्घटना भएको बताउदै अरु कुराभने अनुसन्धानको पाटो भएको बताए ।
प्रहरी निरिक्षक पाण्डेको उक्त भनाईबाटनै हामीलाई लागि सकेको थियो कि अगाडीनै अरु अनलाईनमा आएको समाचार जस्तै पक्कै पनि यो घटनाको परिणाम भयानक हुनेवाला छ । नभन्दै करिब ७ः३० बजे सम्ममा पुरानो मेडिकल कलेजले ४ जनालाई मृत घोषीत गर्यो भने भरतपुर अस्पतालले १ जनालाई । हामीलाई यो खबरले निकै दुखीत पनि तुल्यायो तर पनि पत्रकारीताको धर्म अनुसारनै हामीले बल्ल समाचार आफ्नो अनलाईन नेपालीको आवाज डटकमबाट प्रकाशित गर्यौ ।
समाचार प्रकाशित भइसकेपछि पनि हरेक दिन केहि प्रश्नहरु हाम्रा मनमा आइनै रह्यो आखिर त्यो अटो ओभर स्पिडमा नभएको भए के हुन्थ्यो होला ? त्यति भयानक दुर्घटना त हुदैन थियो होला कि ? आखिर त्यो अटोमा ६ जना कसरी अटे होलान ? यी प्रश्न अब मन बुझाउने एउटा कारक मात्र थियो । तर पनि यसको उत्तर खोज्न हामीलाई आवश्यक लाग्यो र हामी पुग्यौ चितवनका ट्राफिक प्रहरी प्रमुख चन्द्र कुमार गिरीलाई भेट्न ।
ट्राफिक प्रहरी प्रमुख गिरीका कुराले हामीले सोचेको जस्तै र सुनेको जस्तै सबैकुराहरु सहि होकी भन्ने भान हुन थाल्यो । उनि भन्दै थिए खासमा अटोको इन्जिन क्षमता भनेको २०० सिसीको पल्सर बाइकको क्षमता बराबरको हो जसमा पल्सर बाइकको त्यहि २०० सिसीको इन्जिननै जोडिएको हुन्छ भने सिट क्षमता ड्राइभर सहित ४ जना मात्र हो । जसमा अगाडि सिटमा १ जना ड्राइभर र पछाडिको सिटमा ३ जना यात्रु मात्र राख्न पाइन्छ । तर त्यस दिन उक्त अटोमा ६ जना सवार थिए । जुन दुर्घटनाको पहिलो कारण थियो । त्यस्तै उनले अटो ओरालोमा पल्टिने भनेको ओभर स्पिडलेनै हो भन्ने जानकारी दिदै ओभर लोड र ओभर स्पिड दुवै भएका कारणले उक्त दिनको दुर्घटना भएको बताए ।
ट्राफिक प्रमुख गिरीले हालका दिनमा ट्राफिक प्रहरीले ओभर स्पिड राडार गनको प्रयोग गरि त्यस्ता यातायातलाई कारर्वाही गर्ने गरेको बताए । उनले बाइक, अटो लगाएतका सवारी साधनमा आधार नभएर कारर्वाही गर्न नमिलेको कारणले गर्दा राडार गन मार्फत प्रीन्ट सहितनै प्रमाण आउने भएकाले प्रमाण जुटाउन सहज भएको बताए ।
गिरीले हाल ट्राफिक प्रहरीले क्षमता भन्दा बढि र ओभर स्पिडमा यात्रा गर्नेलाई पहिलो पटक ५ सय देखी १५ सय सम्म जरीवाना गर्दै आएकोमा अबको केहि समयमा करिब डेढ घण्टाको ट्राफिक सचेतना कक्षापनि सञ्चालन हुने बताए । उनले मापसे गरि चलाउनेलाई एक दिन जिल्ला प्रहरी कार्यालयमा थुन्ने र भोलिपल्ट १ हजार जरिवाना गराई छाड्ने गरेको बताए ।
पहिला पहिला लाइसेन्स नभएकाहरुलाई यातायात सेवा केन्द्रले ७ हजार जरिवाना गरेकोमा हालका दिनमा भने ट्राफिक प्रहरी कार्यालयबाटनै ५ हजार जरिवाना गराउने गरेको बताए । गिरीले हालसम्म भरतपुर क्षेत्रमा मात्र करिब त्यस्ता लाइसेन्स नबोक्ने ९० जनालाई जरिवाना सहित कारर्वाही गरिएको बताउदै अबको हाम्रो ध्यान टांडी, पर्सा र भण्डाराका क्षेत्रमा रहेको र सोहि अनुसार अगाडी बढ्न सबै मातहतका ट्राफिक पोष्टहरुलाई निर्देशन दिइसकेको बताए ।
चितवनका ट्राफिक प्रहरी प्रमुख चन्द्र कुमार गिरीका कुरा पछि हामीले सोचेको र जानेको कुरा लगभग मेल खाइसेको थियो र दुर्घटनाको कारण पनि प्रष्ट भैसकेको थियो । तर पनि कताकता हालका दिनमा अटो चालकहरुको अटो चलाउने तरिका भने मनमा आइरहेको थियो । उनिहरुको अटो हाक्ने गति, अस्वस्थ प्रतिस्पधा र मापसे गरेर सवारी चलाउने तरीकाकोको बारेमा केही न केही भएपनि जानकार थियौ हामी । तर जब पर्छ तब मात्र लेख्ने र चासो राख्ने हाम्रो बानीबाट हामी पनि अछुतो रहने कुरै थिएन जस्तो भयो । त्यसैले मनमा आएका अनगिन्ति बिचारहरुलाई सबै माझमा लैजाने निधो गर्यौ हामीले ।
समग्रमा भन्नुपर्दा हालका दिनमा अटो चालकहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण र मापसे गरेर सवारी चलाउने कारणले गर्दा जो कोहि पनि दुर्घटनाको सिकार हुनुपर्ने अवस्था आएको छ । अझ शहर बजारका राजमार्गका बाटोहरुमा भन्दा गाउ भित्रका रोडहरुमा अटो चालकहरुले हरेक समय स्पिडमा अटो कुदाइरहेको देख्दा त झन लाग्छ हामी कुनै अर्को दुर्घनाको पर्खाइमा छौ । हाम्रा यी कुरा अटो रिक्सा प्रतिको रिस र आवेग भने पक्कै होइन । अटोको कारणले गाउ शहरमा कति सहज भएको छ त्यो पनि हामीलाई थाहा छ । तर पनि सहजताको नाममा दुर्घटनालाई कहिलै स्विकार्न सकिदैन यो पनि ध्रुव सत्य कुरा हो । यो बिषयमा अटो चालक आफैले सोच्नुपर्ने देखिन्छ ।
अबका दिनमा चितवन ट्राफिक प्रहरीले बिषेशत चितवनका भित्री गाउं अझ पहाडी ईलाकामा चेकजांचलाई कडाई गर्नैपर्ने देखिन्छ । दुर्घटना पछि ज्या, ल खत्तम भयो भन्नु भन्दा पनि बरु पहिलैनै सबैमा जनचेतना फैलाउन सके पक्कै पनि यी र यस्ता दुर्घटनालाई पुरै रोक्न नसकेपनि कम गर्न भने अवश्य सकिन्छ ।
मंसिर २१ गतेको दुर्घनामा परि पर्बत जिल्ला कुश्मा नगरपालिका पिपलटारी स्थायी घरभई हाल चितवन खैरहनी न.पा.–८ बस्ने बर्ष ४९ का श्याम प्रसाद तिवारी, राप्ती नगरपालिका वडा नम्बर ९ निवासी बर्ष २५ वर्षकी मीना खड्का, अन्दाजी ३२ बर्षकी माया तामाङ , खैरहनी वडा नं. ९ बस्ने ४२ बर्ष का बिश्वमणी भण्डारालाई पुरानो मेडिकलले मृत घोषित गरेकोे थियो भने नाम थर नखुलेकी अन्दाजी ३५ बर्षकी एक महिलालाई भरतपुर सरकारी अस्पतालले मृत्यु घोषीत गरेको थियो ।
मृत आत्मा प्रति हार्दीक श्रद्धाञ्ली अर्पण गर्दछौ भने घाइते अटो ड्राइभरको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । यतिका कुराहरु सबैका माझमा राखिसकेपछि मनमा एउटै प्रश्न हाम्रो जस्तै तपाइको मनमा पनि अवश्य गुञ्जिरहेको होला “यदि त्यस दिन उक्त अटो ओभर स्पिडमा नभएको भए पांचै जनाको एकै चिहान त हुदैन थियो होला कि ?