हुम्ला- हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भीरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भीरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको छ ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्यु भएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताए ।

मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका २५ वर्षीया सोनाम मिगुर लामा र नाम्खा–४ बस्ने साबेल लामा रहेका छन् । मृत्यु भएका दुवै जनाको सनाखत भएर आफन्तले बुझेका छन् ।

घाइते हुनेमा टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका २५ वर्षीय कुलमान तामाङ र हुम्लाको नाम्खा गाउँपालिका–१ का ३२ वर्षीया सोनाछेजुन लामा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

घाइते चालकसहित लामाको अहिले स्थानीय मुचु स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले जानकारी दिए । टिपर भीरबाट सात सय मिटरभन्दा तल खसेको उनले बताए ।

हिल्सादेखि खाद्य वस्तु र डिजेल बोकेर याल्वाङ्ग जाने क्रममा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

हुम्लामा आज बिहानदेखि हिमपात भएका कारणले हिउँमा चिप्लेर दुर्घटनामा भएको हुनसक्ने जिल्ला प्रहरीले आशङ्का गरेको छ ।

यसअघि मङ्सिर ११ गते सल्ली खोलाबाट चामल ओसारिरहेको टिपर सिमकोट लाग्नामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।

यसैबीच, माटोको ढिस्कोले पुरिएर तनहुँमा आज एक जनाको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका–८ टुकमराङमा ढुङ्गाखानीमा काम गर्दै गरेको अवस्थामा एक वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही वडाको चैनपुर बस्ने ५८ वर्षीय काले परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

ढुङ्गाखानीमा चार जनाले काम गर्दै गरेको अवस्थामा अचानक माटोको ढिस्को खस्दा अन्य तीनजना भाग्न सफल भए पनि परियारको भने ढिस्कोले पुरिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया