-महेश पाण्डे

चितवन- चितवनमा शुक्रबार विभिन्न स्थानमा दुर्घटना भएको छ । गएराति रत्ननगर २ स्थित टाँडीचोकमा भएको दुर्घटनामा २२ जना घाइते भए । त्यसलगत्तै शुक्रबार बिहानै पूर्वी चितवनको भण्डारास्थित हर्दीमा दुर्घटना हुँदा १३ जना घाइते भए ।
यस्तै, बिहान ११ः१० इच्छाकामना गाउँपालिका ४ स्थित कुरिन्टारमा चारवटा म्याजिक र स्र्कापियो ठोक्किँदा सात जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।

यसैगरी, काठमाडौँबाट बुटवलतर्फ आइरहेको लु २ ख १५७९ नम्बरको यात्रुबाहक बस कुरिन्टारमा आफैँ अनियन्त्रित भई पल्टिँदा बसमा सवार २६ यात्रुमध्ये ११ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको नौ जनाको टोलीले बस र चालकलाई नियन्त्रणमा लिएको जिप्रका चितवनले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी चितवन भरतपुर १८ की २० वर्षीया रजनी कुमालको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा घाइते भएका दाङको घोराही ११ बस्ने २३ वर्षीया सिरही रानाभाट, भारतीय नागरिक ३२ वर्षीया सबिना खातुन र १५ वर्षीय सकिन खातुन, रुपन्देहीको बुटवल ११ बस्ने वर्ष २५ की गोमा सापकोटा, बुटवल ४ बस्ने वर्ष ४८ की बिनु खाती, भरतपुर १० बस्ने वर्ष ४९ की मीनाकुमारी शर्मा र पर्वतको कुश्मा १० बस्ने ५३ वर्षीय प्रेम लामिछानेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया