महेश पाण्डे
चितवन । चितवन हात्ती महोत्सव पौष १० गते देखि ९ दिन सम्म सञ्चालन हुने भएको छ । महोत्सबको आयोजक रहेको क्षेत्रीय होटल संघ नेपाल, चितवनले शुक्रवार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो । अगाडिका वर्षमाझै यसवर्ष पनि महोत्सब बाघमारा सामुदायीक बनको चौरमानै सञ्चालन हुन जानकारी कार्यक्रमका संयोजक राममणी खनालले यस अघिका महोत्सब ५ दिन अर्थात पौष १० गते देखि १४ गते सम्म हुने गरेकोमा यस पटकबाट भने महोत्सब पौष १० गते देखि १८ गते सम्म हुने बताए ।

खनालले यसपालीको महोत्सब हात्ती मैत्री बनाउने उद्देश्यका साथ “हात्ती मेरो साथी” भन्ने नारानै राखेर अगाडि बढकोे बताए । उनले १६ औं चितवन हात्ती महोत्सब भब्यताका साथ सम्पन्न गर्न बिगत ३ वर्ष देखि गर्दै आएको नितान्त नौलो “हात्तीको पिकनिक” कार्यक्रमलाई यसपटक पनि महत्वका साथ अगाडि बढाइएको जानकारी दिए । उनले “हात्तीको पिकनिक” मा सौराहामा रहेका सबै हात्तीलाई उनिहरुलाई मनपर्ने र मिठो लाग्ने खानेकुराहरु दिने बताए ।
उनले खासगरि प्रदेश नं. ३ को सरकारले यसपालीको हात्ती महोत्सवको स्वामीत्व ग्रहण गरेका कारण महोत्सब ५ दिनबाट ४ दिन थप गरि ९ दिन लम्बाइएको जानकरी दिए । खनालले यसपालीको महोत्सब मानव र बन्यजन्तुको द्धन्द कम गर्ने दिशामा अगाडी बढ्ने जानकारी दिदै हात्ती महोत्सब पर्यटन मैत्री, वातावरण मैत्री र संरक्षण मैत्री हुने कुरामा कुनै सन्देह नरहेको बताए ।

खनालले हात्ती पोलो खेल प्रदेश सरकारले आफ्नो कार्यक्रम तालिकामानै राखेको कारणले गर्दा पनि यस पटकको हात्ती महोत्सबमा प्रदेश सरकारले यस कार्यक्रममा सहकार्य गर्ने चाहाना देखिएकाले केहि दिन लम्बिने कुरा भएको पएतापनि यदि त्यसो हुन नसकेमा पौष १० देखी १४ गतेसम्मैनै महोत्सब हुने जानकारी दिए ।

उनले यस महोत्सबमा बन्यजन्तुको दिनचर्याको बारेमा बिज्ञसंगै बसेर ज्ञान लिने, हात्तीको स्वभाव अनुशार माउतेलाई तालीम दिने लगाएतका कार्यक्रमहरुको आयोजना गरिने जानकारी दिदै हाल हात्तीको संरक्षणका लागि पशुपंक्षी मन्त्रालयसंग सहयोगको लागि अनुरोध गरेको जानकारी दिए । उनले पहिलेका दिनमा हात्ती सफारी गर्दा दैनिक ४–५ लट सम्म सफारी गराउदै आएकोमा त्यसलाई घटाएर हात्ती सफारी मात्र २–३ लटमा झारीएको बताए ।

क्षेत्रीय होटल संघ नेपाल, चितवनका अध्यक्ष दिपक भट्टराईले यसपालीको महोत्सबमा बिगतमा छोडीएको गाडा दौड, टांङ्गा दौड र डुङ्गा दौडलाई पनि समाबेस गरिएको र बिच भलिवलको पनि तयारी भइरहेको बताए । उनले यस महोत्सबमा करिब १ करोड १८ लाख ९१ हजार खर्च हुने बताउदै यसको ब्यवस्थापन भने क्षेत्रीय होटल संघ नेपाललेनै गराउने तर केहि खर्च भने प्रदेश सरकारले पनि उपलब्ध गराउने कुरा भएको जानकारी दिए । उनले त्यस बाहेक पनि नगरपालिका र पर्यटन बोर्डबाट पनि केहि सहयोग प्राप्त हुने बताए । अहिले ९ दिनको कार्यक्रम थप हुदा बिशेष गरि के के कार्यक्रमहरु छन भनेर पूर्वी चितवनका ४ वटा स्थानिय तहसंग छलफल भइरहेको र सो छलफल पछि नया कार्यक्रमहरु पनि थपिने भट्टराईले जानकारी दिए ।
संस्थाका निर्वतमान अध्यक्ष सुमन घिमीरेले हालका दिनमा पेटा (People for the Ethical Treatment of Animals) ले यस अघि हात्ती महोत्सब गर्दा प्रायोजन गर्ने सस्थालाई प्रायोज नगर्न आग्रह गरेका कारणले गर्दा हालका दिनमा कसैको पनि प्रायोजन नरहेको बताए । पत्रकारहरुले माउतेले यातना दिएको भिडियो केहि समय अघि भाइरल भएको बिषयको प्रश्नमा घिमीरेले उक्त भिडियो सुनुयोजित ढंगबाट आएको बताए ।

उनले केहि आफुलाई जनवारका अधिकारकर्मी बताउनेहरुले माउतेसंग मिलेर संघ र सौराहालाइनै अन्र्तराष्ट्रिय रुपमानै बदनाम गराउन र नेपालमा आयोजना हुने हात्ती महोत्सबलाई बिफल बनाउन प्रोपोगाण्डा रचिएको बताउदै त्यसबाट हात्ती महोत्सबलाई कुनै असर नपर्ने बताए । उनले कसैले केहि भन्दैमा महोत्सब बन्द नहुने बताउदै बरु हात्ती मेरो साथी नारालाई सार्थक बनाउन पेटाले आग्रह गरे अनुशारको कुनै पनि कमी हुन नदिने कुरा ब्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलराम दाहालले अबको हात्ती महोत्सब वातावरण र जनावर मैत्री हुनुपर्ने कुरामा जोड दिए । उनले हात्ती खेल बि.सं. २०४५ सालमा पश्चिम चितवनमा त्यतिबेला चर्चीत रहेको टागरटप्स होटलले हात्ती पोलोको नामबाट सुरुवात गरेको जानकारी दिदै त्यसबेला उक्त होटलले एक पटकको खेलबाट ९ महिना सम्मलाई खर्च धान्ने गरि रकम आम्दानी गर्ने गरेको जिकिर गरे । उनले यदि यो महोत्सब हात्ती मैत्री नदेखिएमा तत्काल आएर सोको बारेमा जानकारी दिन पनि सबैमा आग्रह गरे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका कार्यक्रमका उप संयोजक ऋषी तिवारीले सौराहा र हात्तीको इतिहास निकै पुरानो भएकाले हात्ती बिनाको सौराहाको कल्पना पनि गर्न नसकिने बताए । उनले हाल सौराहामा पालिएका हात्तीले चितवन राष्ट्रिय निकुञ्जको हरियो घास पनि खान नपाएकोले यसको लागि मन्त्रालयसम्म पनि डेलिकेसन गएको जानकारी दिए । तिवारीले ब्यक्तिगत रुपमा हात्ती पाल्ने कोही पर्यटन ब्यवसायीले कसैलाई हात्ती चढ्नै पर्छ भनेर भन्ने नगरेको बताउदै सबै मिलेर हात्ती महोत्सब सफल पारे मात्र सौराहामा पर्यटन बृद्धि हुने कुरामा कुनै दुइमत नभएको बताए ।
कार्यक्रमका अतिथी रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले हात्तीलाई सधै माया गर्नुपर्ने कुरा ब्यक्त गर्दै जनावरको अधिकारको कुरा खालि नेपाल जस्तो गरिब देशमा मात्र सुनिने गरेको बताउदै बन्यजन्तु नभए सौराहामा ब्यवसायनै हुन नसक्ने कुरा ब्यक्त गरे ।
संघका कोषाध्यक्ष माधव दुवाडीले नेपालीको आवाज डटकमसंग कुराकानी गर्दै हात्ती महोत्सबको अबसर पारेर सौराहाका होटल ब्यवसायीले होटल बसाइमा ३० प्रतिशत छुट दिने ब्यवस्था गरेका बताए । उनले पर्यटन बर्षलाई सफल बनाउन सबै मिले मात्र सम्भव हुने भएकाले सबैलाई हात्ती महोत्सबमा सहभागी हन आग्रह पनि गरे ।
बाघमारा सामुदायिक वनको चौरमा हुने महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फास्टवाक प्रतियोगिता, हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रमहरु हुनेछन् ।

तपाईको प्रतिक्रिया