
धनुषा- धनुषाको थिरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगर बजारस्थित औषधि व्यवसायी राजेश साहको घरमा भएको बम विस्फोटमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
विस्फोटमा घाइते भएका ६ जनामध्ये प्रहरी निरीक्षक अमिर दाहालको शनिबार बिहान उपचारको क्रममा धरानमा ज्यान गएको प्रहरीले जनाएको छ ।
शुक्रबार मध्यराति भएको विस्फोटमा एकजना प्रहरीसहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहाल, औषधी व्यवसायी राजेश साह र उनका छोरा आनन्द साह रहेका छन् । अन्य ५ जना घाइतेहरुको उचपार भइरहेको प्रहरीले जनाएको छ ।
विस्फोटमा गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा शनिबार बिहान ६ः५० मा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पुष्टि गरेका छन् । व्यवसायी राजेश साहले आफ्नो घरमा बम राखेको थाहा पाएपछि प्रहरी निरीक्षक दाहाललाई बोलाएका थिए । बम विस्फोटमा राजेश साहका एक छोरा र एक छोरी घाइते भएका छन् ।
प्रहरीले औषधि व्यवसायीको घरमा लक्षित गरी बम कसले र किन राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।