चितवन- हंस बहुउद्देश्यीय सहकारी संस्थाले दसौँ वार्षिकोत्सवका अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई दस लाख रूपैयाँ सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका तर्फबाट प्रदेश सांसद् तथा कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई दस लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रदेश सांसद गीता वाग्ले, कृष्ण भुर्तेल, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुवेदी, जिल्ला सहकारी संघ चितवनका सञ्चालक शंकर राजभण्डारी, उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु पौडेललगायतको सहभागिता रहेको थियो ।

वार्षिकोत्सवका अवसरमा सञ्चालक सदस्य तेजनारायण खरेलको संयोजकत्वमा खुला रक्तदान, उत्कृष्ट सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहयोगी संस्थाहरु जुनियर प्रहरी अधिकृत शिक्षालय, प्राङ्गारिक कृषि उत्पादन सहकारी संस्था, सहकारी क्षेत्रको प्रवद्र्धन र विकास पत्रकारितामार्फत् उल्लेख्य भूमिका खेल्ने पत्रकार सन्तोष देवकोटालाई सम्मान गएको थियो ।

साथै, समुदाय प्रहरी साझेदारी कार्यक्रममा सहयोग गरेबापत प्रहरी दिवसका अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्रीबाट सम्मान प्राप्त गर्ने संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया