हेटौँडा- मकवानपुर प्रहरीले १० किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी १० किलो लागूऔषध चरेससहित २ जनालाई पक्राउ गरेको जनाएको हो ।
प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरी टोलीले भैँसे–भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका २ देखि भीमफेदीबाट हेटौँडातर्फ आउँदै गरेको बा ४० प ७२४० नं को मोटरसाइकलमा लुकाएर ल्याएको १० किलो २५० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका ७ बस्ने मोटरसाइकल चालक अरविन्दकुमार पटेल र मोटरसाइकलमा सवार बारा आदर्श कोतवाल गाउँपालिका १ बस्ने सुल्तान मियाँ अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जनाएका छन् ।
चरेस कालो झोलामा प्लास्टिकको टेपले बेरेर १० वटा पोका बनाएर ल्याएको अवस्थामा पक्राउ गरेको उपरीक्षक सिंहले पत्रकार भेटघाटमा बताएका छन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।