चितवन- नेपाली सेनाले नारायणी नदीमा जलउद्धार अभ्यास तालिम प्रदर्शनी गरेको छ ।

नेपाली सेना २ नम्बर विपद् व्यवस्थापन गण रसौली चितवनले विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गतका फौजहरुको क्षमता विकास अभिवृद्धिका साथै समूहगत कार्य गर्ने परिपाटीको विकास गर्ने उद्देश्यले जलउद्धार अभ्यास गरेको हो ।

सो अवसरमा नदीमा डुंगा पल्टेर डुबेकाहरुको उद्धार कसरी गर्ने भन्ने बारेमा प्रदर्शन गरिएको थियो । प्रदर्शनमा मोटर बोट र जेट बोट र राफटिङ बोट प्रयोग गरिएको थियो । ६ दिनसम्म भएको उक्त तालिमको शुक्रबार समापन गरिएको हो ।

तालिममा विपद् व्यवस्थापन तालिम शिक्षालय १ नम्बर विपद् व्यवस्थापन गण र २ नम्बर विपद् व्यवस्थापन गणका ३५ सैनिकको सहगागिता रहेको २ नम्बर विपद् व्यवस्थापन गणका गणपति राजेन्द्र पराजुलीले बताए । चितवनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई विपद्मा प्रयोग गरिने विभिन्न आधुनिक उपकरणबारे जानकारी गराइएको थियो ।

विपद् व्यवस्थापन निर्देशनालयका सहनिर्देशक महासेनानी सुवास थापाको आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका सरकारी निकायका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया