
काठमाडौँ- कलाकार दीपक क्षेत्री मृत अवस्थामा भेटिएका छन् । ५८ वर्षीय क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका हुन् ।
डिल्लीबजारमा रहेको घरमा आफ्नो कोठाको चुक्कुल लगाएर सुतेका उनी शनिबार बिहान उनको छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा मृत अवस्थामा भेटिएका हुन् ।
क्षेत्री शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । श्रीमती विपना बस्नेत र छोरी रिस्ता बस्नेत मलेसियामा भएका कारण कलाकार क्षेत्रीको आइतबारमात्र अन्त्येष्टि गरिने भएको छ ।
चिसो र सुत्नुभन्दा अगाडि अत्यधिक मदिरा सेवन गरेका कारण कलाकार क्षेत्रीको मृत्यु भएको हुनसक्ने कलाकार उत्तम केसीले बताए ।
गतवर्ष स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका कलाकार क्षेत्रीको केही समयअगाडि शल्यक्रिया गरिएको थियो । त्यसयता उनी स्वास्थ्य थिए । उनी पछिल्लोपटक फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए ।
दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्रीले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।
जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका फिल्ममा अभिनय गरेका छन् ।