सुर्खेत- लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी रहेको खुलेको छ ।
विभिन्न परीक्षा केन्द्रमा आज प्रवेशपत्र जाँचका क्रममा फेला परेका ती परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
श्रीकृष्ण संस्कृत तथा साधारण मावि केन्द्रबाट १८, इगरब्रिज माविबाट दुई र सुर्खेत क्याम्पस (शिक्षा)बाट दुई गरी २२ नक्कली परीक्षार्थी पक्राउ गरिएको उनले जानकारी दिए ।
“केहीले आफन्तलाई सहयोग र केहीले पैसा लिएर परीक्षामा सहभागी भएको पाइएको छ, यस सम्बन्धमा विस्तृत अनुसन्धान गर्दैछौँ,” प्रहरी उपरीक्षक पन्तले भने । जवान पदको लिखित परीक्षामा तीन हजार ३०० परीक्षार्थी सहभागी थिए ।