-हृदयेन्द्र अनुरागी
चितवन- भरतपुर १० मा रहेको चितवन मेडिकल कलेज (सीएसमसी) ले मेडिकल शिक्षाका सबै संकायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको हो ।
सरकारसँग दुईबुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिमार्फत् जनाएको छ ।
सीएमसी प्रशासनले ६ बुँदे प्रतिबद्धतासहित विद्यार्थी तथा अभिभावकलाई समायोजित शुल्कको जानकारी लिन कलेजको कैलाशनगरस्थित लेखा शाखामा एक साताभित्र सम्पर्क राख्नसमेत अनुरोध गरेको छ।
यही मंसिर १० गते सरकार र मेडिकल सञ्चालकबीच दुईबुँदे सहमति भएको थियो । जसमा एमबीबीएस र बीडीएसका पछिल्ला दुई शैक्षिक सत्रमा लिएको अतिरिक्त शुल्क मंसिर ११ बाटै समायोजन गर्ने भनिएको थियो । शैक्षिक सत्र ०७२/७३ र ०७३/७४ सम्बन्धमा भने चिकित्सा शिक्षा आयोगले निर्णय गरेबमोजिम हुने भन्ने उल्लेख छ ।
कले प्रशासनको यो सहमतिलाई पनि आन्दोलनरत विद्यार्थीले भने स्वीकार गरेका छैनन्। उनीहरू चार शैक्षिक सत्रको शुल्क नै फिर्ता वा समायोजन हुनुपर्ने अडानमा छन् । पहिलो वर्षका विद्यार्थीले वार्षिक परीक्षा नदिएपछि दोस्रो वर्षका विद्यार्थीले पनि परीक्षा नदिने घोषणा गरेका हुन् ।
आन्दोलनरत विद्यार्थीले भने एमबीबीएस र बीडीएसको मात्रै नभएर अन्य शैक्षिक कार्यक्रमको शुल्क पनि फिर्ता वा समायोजन हुनुपर्ने अडान राख्दै आएका छन् । चितवन मेडिकल कलेजले अन्य स्नातक कार्यक्रम नर्सिङ, पब्लिक हेल्थ, बी फार्मेसी, बीएमएलटी, बीएमआईटीमा पनि तोकेकोभन्दा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
विश्वविद्यालयले तोकेअनुसार नियमित वार्षिक परीक्षा शुल्क लिने र परीक्षा सञ्चालनका लागि लाग्ने अन्य अतिरिक्त शुल्क सम्बन्धित निकायले तोकेबमोजिम गर्ने सीएमसी प्रशासनको दाबी छ ।
‘सरकारसँग गरेको दुईबुँदे सहमतिभन्दा पनि अगाडि बढेर चितवन मेडिकल कलेजले अन्य शैक्षिक कार्यक्रममा समेत शुल्क समायोजन गर्ने प्रतिबद्धता कार्यान्वयन गर्ने चरणमा लैजाँदै छ,’ कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
कलेजले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गरेर शैक्षिक, प्रशासनिक एवम् प्राज्ञिक क्रियाकलापहरु सुचारु गराउन सहयोग गर्न, विश्वबिद्यालयका नियमित परिक्षाहरुमा सहभागी हुन र विश्वासको वातावरण तयार गरी शुल्क समायोजनको प्रक्रियालाई सहयोग गर्न अनुरोध गरेको छ । साथै, सम्पूर्ण अभिभावक, नागरिक समाज, राजनीतिक दल, पत्रकारलगायतबाट सहयोगको अपेक्षा राखेको जनाएको छ ।
सीएमसीले जारी गरेको पुरै विज्ञप्ति पढ्न तल थिच्नुहोस् :
Press Release Signed copy 28 Mangsir