काठमाडौँ- नेपाल अध्यागमन विभागले आफूहरूलाई कजाकिस्तानमा वल्र्ड कजाख कुरेसी च्याम्पियनसिपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन् ।
यही मंसिर २८ देखि सुुरु भएको च्याम्पियनसिपमा भाग लिन जानेक्रममा विभागले आफूहरूमाथि रोक लगाएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा भाग लिनका लागि नेपाली खेलाडी तथा प्रशिक्षक मंसिर २६ गते त्यसतर्फ प्रस्थान गर्न लागेकामा विभागले तिनलाई राष्ट्रिय खेलकेद परिषद्को अनुमतिपत्र नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको थियो ।
प्रतियोगितामा भाग लिन प्रशिक्षक गणेशबहादुर कुँवर तथा खेलाडी ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मानजीत लामा त्यसतर्फ जाने कार्यक्रम थियो ।
प्रतियोगितामा विश्वभरिका ११६ भन्दा बढी देशबाट खेलाडीको सहभागिता छ । नेपाली खेलाडी छनोट हुँदा पनि कजाकस्तान जान पाएनन् । खेलाडी तथा प्रशिक्षकलाई च्याम्पियनसिपले स्पोन्सर गरे तापनि विभागले विनाकारण रोक लगाएको भनी प्रशिक्षक कुँवरले गुनासो पोखे ।
प्रतियोगितामा भाग लिनबाट वञ्चित खेलाडी राईले आफूहरूसँग सबै आवश्यक कागजात हुँदा पनि प्रतियोगितामा सहभागी हुनबाट रोकिएको जिकिर गर्दै दुःख प्रकट गरे ।