काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा मानवअधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना गरिएको ११औँ मानवअधिकार राष्ट्रिय महाभेला–२०७६ समापन समारोहमा उनले आफ्नो कार्यकाल करिब १० महिनामात्र भए पनि बाँचुन्जेलसम्म मानवअधिकारका लागि काम गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
“स्वतन्त्र भएर मानवअधिकार बहालीका लागि काम गर्छु”, अध्यक्ष शर्माले भने, “मानवअधिकार एउटा आन्दोलन हो, यसको क्षेत्र व्यापक छ, नेपाली जनता सबैमा हामी एक हुँ भन्ने भावना रहुञ्जेल समाज विखण्डन हुँदैन ।”
एक सप्ताहसम्म चलेको महाभेलाले मानव अधिकारका क्षेत्रमा आगामी दिनमा योजनाबद्ध तरिकाले अगाडि बढ्न सहयोग पुग्नेछ भन्ने विश्वास लिएको र योजनाअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो ।
महाभेलाका संयोजक तथा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जीतराम लामाले महाभेलाका अवसरमा ५० जिल्लामा विभिन्न कार्यक्रम गरेको र अर्को वर्ष सबै पालिकास्तरमा गएर मानव अधिकार रक्षाका कार्यक्रम गर्ने जानकारी दिए ।
मधेसी आयोगका अध्यक्ष डा विजय दत्तले मुलुकमा काम गर्ने मानव अधिकारसम्बन्धी सबै मिलेर मानवअधिकार संरक्षण र संर्वद्धनका लागि लाग्नुपर्नेमा जोड दिए ।
थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले संविधानमा व्यवस्था भएका कुरा कार्यान्वयनमा चुनौती भएको र आम मानिसको बीचमा लैजाने भन्ने विषयमा ध्यान दिएर अघि बढ्न सुझाव दिए ।
महाभेलाको पूर्वसंयोजक शान्तलक्ष्मी श्रेष्ठले नेपाली जनसमुदाय सबैले आफ्नो घर घरमा मानवअधिकार प्रत्याभूति हुने काम गर्नुपर्ने विचार व्यक्त गरे ।
यही मंसिर २२ गतेदेखि २९ गतेसम्म चलेको सो कार्यक्रममा २०० भन्दा बढी संघसंस्था सहभागी भएका थिए । मानवअधिकारकर्मीले वर्षैभरि नै मानवअधिकार रक्षाका लागि प्रतिबद्ध रहने मत जाहेर गरेका थिए ।