काठमाडौँ- सशस्त्र प्रहरी बल (एपिएफ)की सावित्रा भण्डारीले भारतको सिक्किमविरुद्धको खेलमा तेहेरो ह्याट्रिक गरेकी छिन् ।
राजधानीमा जारी प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सावित्रा एक्लैले नौ गोल गरेकी हुन् ।

लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा एपिएफले सिक्किमलाई १८–० गोलले हरायो । एपिएफका लागि अनु लामाले चार, अनिता बस्नेतले तीन तथा रेनुका नगरकोटीले दुई गोल गरिन् । पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा थप आठ गोल गरेको थियो ।

प्रतियोगिताअन्तर्गत आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं–२ लाई ३–० गोलले हरायो । पुलिस क्लबका लागि निशा विक, निरु थापा र दीपा न्यौपानेले एक–एक गोल गरेका थिए । मंगलबार प्रदेश नं–५ र भुटानको टोलीबीच खेल हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको सहकार्यमा आइतबारदेखि शुरु भएको प्रतियोगिताको सातौँ संस्करणमा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं–५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी रहेको नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझीले जानकारी दिए । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया