काठमाडौँ- त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटलब संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले एक/एक गोल गरेयता फ्रेन्ड्सको लागि भने शक्ति राईले एक सान्त्वना गोल फर्काए ।
नवयुगले खेलको तेस्रो मिनेटमै गोल गर्दै आर्मीलाई शुरुआती अग्रता दिलाए । उनले फ्रेण्ड्सको गोलरक्षक अगाडि बढेको अवस्थामा गोल गरेका थिए ।
खेलको ५०औँ मिनेटमा फ्रेण्ड्स क्लबका खेलाडी शक्तिले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यो एक एक गोलको बराबरी लामो समयसम्म टिक्न सकेन ।
खेलको ८१औँ मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए । भरत खवासले प्रहार गरेको कर्नर बल विमल पाण्डेको हेडरमा अनमार्क रहेका उनले वान टच गोल गरेका थिए । जितसँगै आर्मीले शीर्ष तीन अंक जोडेको छ ।