महेश पाण्डे
चितवन । आज कुखुरा पालन गर्ने किसानको मुख्य समस्या भनेको ब्यवसायमा घाटा खाएर पनि आफ्नो पिडा राख्न नसक्नु नै हो । अहिले बिशेषतः कुनै पनि कुखरा पालक किसानको परिस्थिति भनेको बिगत १ वर्षको डाटालाई केलाएर हेर्ने हो भने करिब १ हजार अण्डा उत्पादन गर्ने किसानले करिब करिब ७ लाख देखी १० लाख घाटा खाएको स्थिती हो । यहि अनुपातलाई आधार मानेर अगाडी बढ्ने हो भने जति धेरै कुखुरा पालन त्यतिनै धेरै घाटा भएको प्रष्ट बझ्न सकिन्छ । तर प्रश्न अब घाटाको मात्र रहेन अब प्रश्न सप्लायर्सको डरले आखिर किन बोल्दैनन कुखुरा पालक किसान ? भन्ने पनि हो ।
खासमा यसको मुख्य कारण भनेको किसानले कुखुरा पालन सुरुवात त गर्ने तर नगदबाट नभएर उदारोमा कारोबार गर्ने मनस्थितीबाट ब्यवसाय सुरु गर्ने परिपाटी हो । जब कुखुराको खोर तयार हुन्छ किसानहरुलाई सबै भन्दा पहिले चाहीने भनेको चल्ला र दाना नै हो । तब किसानहरु त्यसको लागि सप्लायर्स कहाँ दाना र चल्लाको लागि जाने गर्दछन तब उनिहरुको एउटै कुराको चाहाना राख्दै भनिरहेका हुन्छन चल्लाको पैसा छ दानाको छैन वा मसंग पुरा पैसा छैन केहि पैसा मात्र छ मलाई उदारोमा दाना र चल्ला दिनु पर्यो अण्डा वा मासु तयार भएपछि त्यसैबाट कटाउनुहोला ।

हो त्यहीबाट किसानको अधिकार कटौती हुन्छ अर्थात अब उदारोमा कारोबार गर्ने भएपछि सप्लायर्सले पनि केहि मार्जिन बढाउनै पर्ने हुन्छ जसलाई सामान्य भाषामा ब्याज खर्च भनिन्छ । जबकी अण्डा वा मासुको मुल्य कति बनाउने तिनै सप्लायर्सको हातमा हुन्छ । सप्लायर्सलाई अण्डाको मुल्य प्रति क्रेट २०० पुग्दा र ३०० पुग्दा हुने फाइदाको दर उहिनै हो । घाटा हुने कुरानै हुदैन । तर बिचारा किसान प्रति क्रेट रु २०० पुग्दा त बिचल्लीको स्थिती हुन्छ भने रु ३०० नै पुगे पनि दानाको महगींको कारणले हुनेवाला केहि छैन । जबकी दानको मुल्य अहिले समग्रमा प्रती केजी रु ५० भन्दा माथी छ र अण्डाको प्रति गोटा किसान लागत रु ११ रुपैया २ पैसा छ । अनि जब अण्डा उत्पादन हुुुुने बेला आउछ अण्डा दिदै दानाको तिर्दै गर्नुपर्ने अवस्था आउछ । अब भाउ भएन खर्च तिरीने हो दानाको ऋण । अब बाहीर बेचर केहि बढि पारौ भन्ने सोच्नु भनेको पहिला सप्लायर्सको भुक्तानी गर्ने अनि बल्ल बेच्ने भन्नेनै हो । तर यदि किसानसंग नगद भएको भएत किसानले सुरुवातमै जति मुल्य भन्यो त्यतीमा चल्ला दानाको दरमा टाउको हल्लाएर आउने स्थिती बाहेक अरु पक्कै हुदैन थियो होला ।
चल्ला राखे देखि पहिलो अण्डा उठाइन्जेल सम्म करिब १ हजार लेयर्स कुखुरा पाल्ने किसानको चल्ला सहित करिब करिब ४ लाख देखी ६ लाख सम्म उदारोमा रहेको हुन्छ । हो त्यहि तिर्न बांकी पैसाले गर्दा बोल्न सकिरहेका हुदैनन किसान सप्लायर्ससंग । बोल्यो कि पोल्यो भन्ने कुराले उनिहरुको मन फुलेर आउछ । कि बोले तिर्नै पर्यो बरु नबोलेकै बेस भनेझै उनिहरु जती घाटा खाएपनि बरु जग्गा बेच्न तयार छन तर सप्लायर्सको बिरुद्धमा बोल्न तयार छैनन ।
अब चल्लाको दरको कुरा गरौ । ह्याचरी उद्योगीहरुले चल्लाको मुल्य पनि मनोमानी ढंगबाट राख्ने गरेका छन् । बिशेष गरि गत २०७५ असोज सम्म पनि लेयर्स चल्लाको मुल्य यीनै ह्याचरी र सप्लायर्स मिलेर प्रति गोटा रु १८० बनाए जबकी त्यो चल्लाको लागत बढिमा रु नाफा सहित ६० भन्दा पर्दैन । त्यस्तै ब्रोइलर चल्लाको रेटपनि प्रति चल्ला रु १०० सम्म रह्यो त्यसको मुल्य पनि उहि रु ६० हो नाफा सहित । यसबाट पनि ह्याचरी हरुको मनोमानी रेट कस्तो छ भन्ने प्रष्ट हुन्छ । त्यति मात्र नभएर अर्को बिडम्बना पैसा हुनेले सबै भन्दा धेरै ह्याचरीनै खोले वा भनौ ह्याचरीमा पैसाको खोलो नै बगाए ।
जसको परिणाम चल्ला उत्पादन पनि बढ्यो । अब चल्ला उत्पादन बढेपछि सोत चल्लाको दर घट्नेनै भयो । अझ भनौ रु १०० वा रु १८० लिने स्थिती भएन । तनाव त तब भयो जब ब्रोइलर चल्ला रु १० मा पनि नबिक्ने स्थिती भयो तब नेपाल ह्याचरी उद्योग संघले देशभरीका करिब १५० जना ह्याचरी उद्योगीलाई बोलाएर ब्रोइलर र कोइलर चल्ला नष्ट गर्ने र मंसिर २९ देखि १० दिन सम्म चल्ला उत्पादन नगर्ने भन्ने निर्णय गर्यो । त्यसको जानकारी नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष टिकाराम पोख्रेलले भरतपुरमा पत्रकार सम्मेलन गरेर दिए । तर त्यसमा लेयर्स चल्ला परेन कोइलर चल्ला उत्पादकले त्यसको बिरोध गरे तर त्यसको पनि सुनवाइ भएन । आखिर किन त ?

यसको जवाफ दिदै नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम के.सी भन्छ् “यो पनि एउटा खेलको हिस्सा हो, चल्ला नष्ट गर्दा लेयर्स छुटाउनु पर्ने अनि लेयर्सको पनि उत्पादन बढि भएर हो चांही किन भन्ने नी ? उनले हाल बिदेशी लगानी भित्र्याउने र ठुला ठुला ब्यवासायीले साना साना किसान मार्न यो सबै गरिएको नाटक भएको बताउदै नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्षनै बिदेशी लगानी ल्याउने ब्यक्ति भएको आरोप पनि लगाए ।

उत्पादन बढि भएर किसानको अण्डा नबिकेर रेट किसानले पाएनन रे नि त ? भन्ने नेपालीको आवाज डटकमको प्रश्नमा के.सीले भने “त्यो कुनै हालतमा सत्य होइन, हाल काठमाण्डौमा अण्डाको माग उच्च छ, किसानका खोर खालि भइसके अनि सधै के को उत्पादन बढि को कुरा हो ?” उनले नेपालका पूर्व र पश्चिम क्षेत्रमा अण्डाको रेटको समस्या नभएको बरु अण्डाको मुल्य बढाउन माग रहेको तर चितवनमा केहि मान्छेको खल्ने बानी भएकै कारण यस्तो समस्या आएको बताए ।
अब प्रश्न फेरि उठ्छ किन ह्याचरी उद्योग संघले त्यति धेरै नाफा राखेर लेयर्स चल्ला प्रति गोटा १८० र ब्रोइल चल्ला प्रति गोटा रु १०० मा किन बच्यो ? के किसानले मात्र घाटा खानु पर्ने अनि ह्याचरी उद्योगीले चाही कहिलै घाटा खानै नुहुने हो र ? नेपाल सरकारले लागत मुल्य भन्दा २० प्रतिशत भन्दा बढि नाफा राखेर बेच्न नपाउने कुरालाइ किन लत्यायो ह्याचरी ंसंघले ? यति धेरै प्रतिशत नाफा किन राखियो त्यसको जवाफ नेपाल ह्यारी संघले दिन आवश्यक छ । सधै मौकाको फाइदा उठाएर किसान मात्र पिडीत हुने सिद्धान्तबाट अगाडि बढ्ने हो भने अब किसानको पसिना चुहिएर ग्रन्थीनै रित्तीएको स्थितीमा अब सो ग्रन्थीबाट रगतमात्र बाहिर आउन बांकी देखिन्छ । यसको बारेमा सरोकारवाला ंसंघ, सप्लार्यस र किसान यकै ठाउमा बसेर सबै बाच्ने बातावरण बन्नु पर्ने स्थिती रहेको छ । नत्र पोल्ट्रीको साम्राज्य ढल्ने लगभग निस्चित छ । साथै यस बिषयमा सरकारले पनि हस्तक्षेप गरि सबैको लागत मुल्य हेरि सबैको निश्चित प्रतिशत नाफा तोकी नियमन गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया