महेश पाण्डे
चितवन । अण्डा उत्पादक किसान पक्राउको बिरोधमा भरतपुरमा अण्डा रोडमानै फ्याँकेर प्रदर्शन भएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन नजिकै जम्मा भएका करिब ८० जना भन्दा बढि अण्डा उत्पादक किसानहरुले नारा जुलुस सहित आशा अस्पताल अगाडीबाट चौबीसकोठी सम्म गएर करिब १५ पेटि (१०५ क्रेट) अण्डा रोडमा फालेर बिरोध गरेका थिए । सो क्रममा उपस्थित किसानले “बन्दि किसान रिहाई गर, बिचौलीया मुर्दाबाद, अण्डा संघ जिन्दावाद” भन्ने नारा लगाउदै पक्राउ परेका ५ जना अण्डा उत्पादक किसानको प्रहरीले गरेको पक्राउको बिरोध गर्दै करिब १ घण्टा प्रदर्शन गरेका थिए ।
सो कार्यक्रमको अगुवाई गरेका नेपाल अण्डा उत्पादक संघका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक किरण भुषण ओलीले नेपालीको आवाज डटकमसंग कुराकानी गर्दै पक्राउ परेका ५ जना अण्डा उत्पादक किसानलाई बिनासर्त प्रहरीले रिहा गर्नुपर्ने आफुहरुको माग रहको बताए । उनले प्रहरीले पक्राउ गर्नुको कुनै खास कारण नभएको बताउदै गत मंसिर २६ गते प्रमुख जिल्ला अधिकारीको निर्देशन बमोजिम आन्तरीक रुपमा विवाद समाधान गरी निर्धारित मूल्य कार्यान्वयनको लागि त्रिपक्षिय भेला बोलाइएकोमा सप्लायर्सहरु भेलामा उपस्थित नभई आफुखुसी बैठक बसी अनाधिकृत रुपमा एकलौटी ढंगले अण्डाको मूल्य निर्धारण गरिएको र २७ गते सप्लायर्स बैठकमा अगुवा कृषकहरु गई निर्धारित मुल्य आम किसानको हित बिपरीत भएको भनी आफ्ना कुराहरु राख्दा नाटकीए ढंगबाट अभद्र ब्यवहार मुद्धा लागाई ६ जनालाइ किटानी जाहेरी दिईएकोमा ५ जना पक्राउ परेको जानकारी दिए ।
ओलीले पक्राउ पर्नेमा अण्डा उत्पादक किसानहरु क्रमशः भरतपुर ६ का प्रकाश अधिकारी, भरतपुर २३ का आनन्द मास्के, कालिका ६ का रामहरि केसी, कालिका ६ का दिपेश्वर केसी र भरतपुर १४ का राजेन्द्र साँखी रहेका बताए । उनले पक्राउ परेकालाई तुरुन्त बिनासर्त रिहाइ गर्न प्रशासन समक्ष माग पनि राखे । ओलीले नवलपुर दाना बितरक संघका कार्यवाहक अध्यक्ष विर बहादुर गुरुङ्गले भनाभन मात्र भएको अवस्थामा किसानलाई सत्रुगत ब्यवहार गरि किटानी जाहेरी दिएर यसै ब्यपारमा मरेका किसानलाइनै फसाउने खेल खेलेको भन्दै सो कार्यको बिरोध गरे । उनले गत बर्ष देखिनै अण्डा र ब्रोइलर कुखुराको भाउ नआएको बताउदै अहिले झण्डै करिब २०० भन्दा बढि अण्डा उत्पादकको खोर रित्तीएको र किसानहरुको अन्तिम अवस्था आएको कारणले बाध्य भएर किसानहरु भनाभनको अवस्थामा उत्रिएकोे बताए ।
उनले अहिले पनि अण्डाको माग उच्च रहेको र भाउ घट्नुपेर्ने अवस्था नरहेको बताउदै गत कार्तिक २१ गते भरतपुरमा अण्डा उत्पादक किसान, सप्लायर्स र अण्डा संघको त्रिपक्षीय भेलाले ठुलो क्रेट फार्म मुल्य प्रति क्रेट २७५ र बिक्रि मुल्य प्रति क्रेट २८० साथै मिडियम अण्डा प्रति क्रेट फार्म मुल्य २५५ र बिक्री मुल्य २६० राखिएकोमा मंसिर १५ पछि बिचौलीयाहरु फेरि रेट घटाउन लागेको बताए । उनले बिचौलीयाहरुलाई अण्डाको मुल्य तोक्ने अधिकार नभएको बताउदै अण्डा संघले बढाएको मुल्यलाइ घटाइ रेट तोक्ने अधिकार नभएको पनि बताए । उनले दानाको भाउ प्रति केजी रु ५५ बाट बढेर रु ५७ रुपैया पुग्ने अवस्था आएको बताउदै कति किसानले घरबारी बेची सकेको र कति किसानले घरबारी बेच्ने क्रममा रहेको बताए ।
बिरोध र्यालीमा नेपाल कुखुरा पालक किसान संघका केन्द्रिय अध्यक्ष झनक प्रसाद पौडेल, अण्डा संघका महासचिव प्रविण केसी, कोषाध्यक्ष राजकुमार श्रेष्ठ, सदस्य नेत्र हमाल लगाएतका ८० भन्दा बढि अण्डा उत्पादक किसानहरुको उपस्थिति रहेको थियो ।