चितवन- चितवनको इच्छाकामना गाउँपालिका ७ भालुटारस्थित भित्री सडकमा भएको गाडी दुर्घटनामा गम्भीर घाइते भएका रत्ननगर १० का सुरज पौडेलको मंगलबार बेलुकी ८ बजे उपचारका क्रममा मृत्यु भएको छ ।
भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नम्बरको डिआई गाडीले रोकिराखेको ना ५५ प ७४१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि गाडी अनियन्त्रित भई नालीमा पल्टिँदा सोही गाडीमा सवार पौडेल गम्भीर घाइते भएका थिए ।

अस्थायी प्रहरी चौकी पदमपुरबाट आठ किलोमिटर उत्तरमा भएको दुर्घटनामा गम्भीर घाइते पौडेलको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको र गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी, रत्ननगर नगरपालिका १ भक्तिनी बगैँचामा चित्रसारीबाट सौराहाचोक आउँदै गरेको ना ६ प ३९४५ को मोटरसाइकलले साइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको वान टेस्ट मोटरसाइकलसँग ठोक्किँदा ना ६ प ३९४५ का ३२ वर्षीय नामथर, ठेगाना नखुलेका चालक गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार वान टेस्ट मोटरसाइकलका चालक प्रहरीको नियन्त्रणमा छन् ।
घाइते अज्ञात व्यक्तिको भरतपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया