चितवन- अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरीका आधारमा पक्राउ परेका चितवनका पाँच जना किसान बिहीबार रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुलाई पाँच/पाँच हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
अण्डा उत्पादक किसान र अण्डा, दाना, कुखुरा वितरक संघबीच विवादले उग्ररुप लिएपछि भनाभन, र तोडफोडको घटनापछि संघले केही किसानको नाममा दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको आदेशअनुसार उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
पक्राउ परेका भरतपुर महानगरपालिका ६ का प्रकाश अधिकारी, वडा २३ का आनन्द मास्के, कालिका नगरपालिका ६ का रामहरि केसी, सोही वडाका दिपेश्वर केसी र भरतपुर १४ का राजेन्द्र साँखी रिहा भएको कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया