चितवन- कालिका नगरपालिका–११ सैपामस्थित शुभशान्ति राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई मंगलबार न्यानो कपडा र स्टेसनरी वितरण गरिएको छ ।
एमएडब्लु फाउन्डेसन र खैरहनी-८ पर्सास्थित कालिका मोटरसाइकल पार्टस्ले सैपाममा अध्ययनरत ७३ जना विद्यार्थीलाई उक्त सहयोग वितरण गरेको हो । कालिका ११ का वडाध्यक्ष दामाराम प्रजाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता कालिका मोटरसाइकल पार्टस्का प्रबन्ध निर्देशक उत्तम अधिकारी थिए ।
वितरण कार्यक्रममा चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष ईश्वर श्रेष्ठ, खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ, समाजसेवी मुरलीप्रसाद गजुरेल, कालिका मोटरसाइकल पार्ट्स टाँडी शाखा प्रमुख रामचन्द्र कोइरालालगायतको उपस्थिति थियो ।
सोही अवसरमा चितवन अटो मोबाइल्स डिलर एसोसिएसनका अध्यक्ष ईश्वर श्रेष्ठ र कालिका मोटरसाइकल पार्ट्सका सेल्स म्यानेजर सुदीप लामिछानेले सैपाम विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि ५५ हजार रूपैयाँ विद्यालयका प्रधानाध्यापक नवीन गुरूङलाई हस्तान्तरण गरेका थिए ।

विपन्न विद्यार्थीलाई स्वीटर

त्यस्तै लायन्स क्लब अफ वीरेन्द्रनगरले राप्ती नगरपालिका वडा नं ८ मा अवस्थित ब्रह्मनगर माविमा अध्ययनरत गरिब तथा विपन्न परिवारका २५ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । क्लबले वितरण गरेको स्वीटरले थोरै भए पनि गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई राहत मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि माया सापकोटाले बताइन् ।

तपाईको प्रतिक्रिया