चितवन- पूर्वी चितवनको कालिका नगरपालिकाले शीतलहरबाट हुने जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारी बैठक सम्पन्न गरेको छ ।
मेयर खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा वडाध्यक्ष, सुरक्षा निकाय, रेडक्रस, स्काउट, सामुदायिक वन उपभोक्ता समितिलगायत प्रभावित क्षेत्रका बासिन्दाको सहभागिता रहेको थियो ।
बैठकले यही पुस ८ गतेभित्र नगरभित्र शीतलहरले पार्ने प्रभावको बारेमा अध्ययन, प्रभावित क्षेत्रको पहिचान, उद्धार तथा राहतको प्रकार र आवश्यकता यकिन गर्न कालिका वडा नं १० का वडाध्यक्ष दिलबहादुर गुरुङको संयोजकत्वमा शीतलहर पूर्वतयारी तथा राहत व्यवस्थापन उपसमितिसमेत गठन गरेको छ ।

उपसमितिमा नेरेसो जुटपानी उपशाखाका प्रतिनिधि, शक्तिखोर उपशाखाका प्रतिनिधि, कालिका उद्योग संघका प्रतिनिधि, पत्रकार महासंघ चितवनका प्रतिनिधि, प्राथमिक स्वास्थ्य केन्द्र खोलेसिमलका प्रमुख, जुटपानी र पदमपुर प्रहरी चौकीका प्रमुख, कालिकाका पशुसेवा शाखा प्रमुख, महिला बालबालिका शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, सिंहनाथ गण द कमाण्डो शक्तिखोरका प्रमुख, डिभिजन वन कार्यालय भरतपुरका प्रमुख, सामुदायिक वन महासंघ प्रमुख र कालिकाको विपद् व्यवस्थापन इकाइ प्रमुख सदस्य रहेका छन् ।

बैठकले अत्यन्त प्रभावित परिवारलाई मापदण्डभित्र एकद्धार प्रणालीमार्फत् राहत वितरण गर्ने, शीतलहरको जोखिम न्यूनीकरणका लागि दाउरा तथा इन्धनको व्यवस्था गर्ने, अति प्रभावितका लागि कम्बल, त्रिपाल तयारी अवस्थामा राख्ने, विपन्न समुदायका विद्यार्थीको उपचार तथा औषधि व्यवस्थापन गर्ने, स्थानीय सञ्चारमाध्यमलाई निःशुल्क सूचना संप्रेषण गर्न अनुरोध गर्ने, कृषि उपज, तरकारी तथा पशुपक्षीपालनमा शीतलहरको प्रभाव पर्न नदिन विभिन्न प्रकोप तथा रोग रोकथामका लागि मातहतका इकाइलाई तयारी अवस्थामा राख्ने तथा खाद्यान्नको व्यवस्थापनका लागि विभिन्न संघसंस्थामार्फत् पूर्वतयारी गर्नेलगायतका निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया