महेश पाण्डे
चितवन । एकसरो कपडा र आगो तापेरै पुसको जाडो फाल्दैछन् चितवन सैपामका चेपाङ्ग बालबालिकाहरु । चितवनको कालिका नगरपालिका वडा नं–११, सैपाम साबिक सिद्धि–३ स्थित सैपाम बाँसघारीको यो गाउँ नगर बने पनि विकासको दृष्टिले निकै पछाडि परेको छ ।

पुस लागेसँगै देशभर चिसोको कहर बढेसँगै यहाँका बालबालिका एकसरो कपडा र आगो तापेरै जाडो छल्न बाध्य छन् । ती बालबालिकाको अभिभावकसँग न कपडा किन्ने पैसा छ, न कापीकलम । कहिले जाडो जाला र ढुक्कसँग बाँचौँला भनेर दिन गनिरहेका छन् ।
सो गाउँमा ५६ घरधुरी चेपाङ रहेको वडा नं ११ का वडाध्यक्ष कृष्णप्रसाद प्रजा बताउँछन् । खोलेसिमल बजारबाट पाँच् किमि बाटो र ६ किमि जंगलको यात्रा परेपछि पुगिन्छ यो गाउँ । सरकारले नगरपालिका बनाए पनि यो विकट क्षेत्रमा अभाव र गरिबीले भरिएकोमात्र छैन, यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, बिजुलीलगायत आधारभूत आवश्यकताबाट पनि वञ्चित छन् ।

सो ठाउँमा विसं २०६२ सालमा स्थापना भएको एउटामात्र शुभशान्ति राष्ट्रिय आधारभूत विद्यालय रहेको छ, जसमा ७३ जना बालबालिका भर्ना गरिरहेको र हाल २ जना थपिएर ७५ जना अध्ययन गरिरहेको उक्त विद्यालयका प्रधानाध्यापक नविन गुरुङ्गले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

उनले हालका दिनमा कक्षा १ देखि कक्षा ३ सम्ममात्र पढाई हुने अवस्था रहेको जानकारी दिँदै जसमा ३९ जना बालक र २४ जना बालिकाहरु पढिरहेको बताए । गुरुङले दिएको जानकारीअनुसार शिशु कक्षामा २६ जना, कक्षा १ मा २४ जना, कक्षा २ मा १२ जना र कक्षा ३ मा ११ जना रहेका छन् भने कक्षा २ र ३ का विद्यार्थीले एउटै कक्षा कोठामा पढ्न बाध्य भएका छन् ।

उनले सो क्षेत्रका अधिकांश अशिक्षित रहेको बताउँदै सो विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खाजाको व्यवस्था सरकारले गरेको भए तापनि गरिबीको कारणले न्यानो कपडा र कापी कलम किन्ने पैसासमेत नभएको बताए । उनले हालका दिनमा विद्यालय भवन पनि जीर्ण बन्दै गएको बताउँदै यसको नयाँ विकल्प खोज्नुपर्ने अवस्था आएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर प्रजाले २०६२ सालमा उक्त स्कुल बनाउँदा ३ पटक कालिका सामुदायिक वनले भत्काइदिएको बताए । तर, पछि राजनीतिक दलका प्रतिनिधिको रोहबरमा बल्ला सो भवन बन्न सफल भएको बताए । हालका दिनमा कक्षा ३ पछि बाँकी कक्षा पढ्न विद्यार्थीहरु जाँदा करिब ६ किमिको घनघोर जंगल पार गर्नुपर्ने बताए ।
उनले बीचमा पर्ने सो जंगल पार गर्दा केही विद्यार्थीहरुले हँसिया र कचिया पनि आफ्नो सुरक्षाको लागि लाने गरेको बताउँदै जुनकुनै बेला पनि ठूलो दुर्घटना हुन सक्ने बताए ।

यसरी समग्रमा हेर्दा सो क्षेत्रमा रहेका बालबालिकाका लागि जाडो महिना निकै कष्टकर रहेको प्रष्टै बझ्न सकिन्छ । यी र यस्तै बालबालिकाको सहयोगका लागि केही गर्न सके अवश्य पनि यिनीहरुका लागि ठूलो योगदान हुने कुरामा पक्कै पनि दुईमत छैन ।

तपाईको प्रतिक्रिया