महेश पाण्डे
चितवन- सबैको लागि निकै सुनेको, देखेको र भोगेको ठाउँ हो सौराहा । सौराहा भन्नेबित्तिकै एकसिंगे गैँडा, हात्ती र सफारीको कुरा आइहाल्छ । तर, वास्तवमा यत्ति कुराले सौराहाको बारेमा जानकारी पुग्छ त ? हो यही प्रश्नको उत्तर दिने प्रयास हामी गर्दैछौँ तपार्ईंंलाई हामी ।
के हो सौराहा ?
सौराहा भनेको नेपालको पर्यटकीय तेस्रो गन्तव्य हो र यसको विकास पनि यही ढंगबाट भइरहेको छ । यो नेपालको प्रदेश नं ३ को चितवन जिल्लामा अवस्थित ठाउँ हो । सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन् । निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध मानिन्छ । सौराहा विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको छेउमा नै अवस्थित छ । सो निकुञ्ज ९३२ स्क्वायर किलोमिट क्षेत्रफलमा फैलिएको छ । जुन हात्ती, गैँडा, बाघ, मृग, जरायो, मयुर, चित्तल, बदेललगायतका वन्यजन्तुको साझा वासस्थान हो । यही भएको कारणले गर्दा पनि सबैखाले पर्यटकहरु देशविदेशबाट यहाँ आउने गर्दछन् । सौराहामा सामान्य गेष्ट हाउसदेखि ५ तारे स्तरका होटलहरु सञ्चालनमा रहेका छन् । जसको मूल्य प्रतिरात रु १ हजारदेखि १५ हजारसम्म रहेको छ भने यहाँ रु ३०० देखि १५०० सम्मको डिनर गर्न पाइन्छ ।

सौराहा र चितवनः

चितवन र सौराहालाई सँगै जोडेमात्र यसको सार्थकता हुन्छ । खासमा चितवन भन्नेबित्तिकै वन्यजन्तु पर्यटन र सफारी टुरिजम भनेर विश्वभर प्रसिद्ध रहेको छ । पछिल्लोपटक चितवनमा सफारी टुरिजममात्र नभएर अन्य खालका कार्यक्रमहरु जस्तैः सभा–सम्मेलन, पारिवारिक जमघट, उत्सव, विवाह, पार्टी तथा शभकार्यको लागि पनि महत्वपूर्ण बन्दै गइरहेको छ । योसँगै चितवन भन्नेबित्तिकै धार्मिक पर्यटनलाई पनि जोड्नै पर्ने हुन्छ । चितवनको पेरिफेरीमा रहेका देवघाट, जिरौनाको धर्मधाम, अलिपर जाँदा नवलपरासीको त्रिवेणीधाम, गैँडाकोटको डाँडाकालिका मन्दिरलगायतका रहेका छन् । यसका साथै उत्तरमा रहेको सिराइचुली, उपरदाङ्गगढी, माडीको सोमेश्वरगढीलगायतका एतिहासिक ठाउँ पनि चितवनका महत्वपूर्ण घुम्नै पर्ने क्षेत्रहरु रहेका हुन् ।

किन जाने सौराहा ?

सौरहा भन्नेबित्तिकै किन जाने ? भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । खासमा सौराहा किन जाने भन्ने प्रश्नको उत्तर निम्न कुराहरुबाट दिन सकिन्छ ।

१) शान्त रुपमा प्राकृतिक रुपमा रमाउन ।

२) हात्ती, जीप, डुङ्गाद्धारा वा हिँडेर वन्यजन्तुसँगसम्बन्धी गतिविधि नजिकबाट नियाल्न र चराचुरुङ्गी हेर्न साथै मनोरम ठाउँहरुको अवलोकन गर्न ।

३) बूढीराप्ती, रापती, ढुङ्गे खोलालगायतका कारणले गर्दा नदीमा पाइने गोही, चराचुरुङ्गी हेर्न । साथै डुङ्गा सफारीमार्फत गर्ने यात्रा निकै मनमोहक हुने हुनाले रमाइलो ठाउँहरु दृश्यावलोकन गर्न ।

४) संसारबाटै लोप हुन लागेको भयंकर जनावर हात्तीहरुको प्रजनन केन्द्र अवलोकन गर्न । जुन केन्द्र हात्तीहरुको प्रजनन गर्ने नेपालकै एकमात्र ठाउँ रहेको छ । जसलाई सरकारले व्यवस्थित गरेर राखेको छ । उक्त स्थानमा हात्तीका बच्चाहरु (छावाहरु) जन्मिछन, हुर्कन्छन र बढ्ने गर्दछन् ।

५) हात्ती सफारीमार्फत् रमाउन । वास्तवमा भन्नुपर्दा देशको आर्थिक समृद्धि बढाउन र पर्यटन व्यवसायलाई अगाडि बढाउन हात्तीको भूमिका निकै महत्वपूर्ण रहेको छ ।

६) जीप सफारी गर्न । जुन सौराहाको आएपछि समूह वा रिजर्भ गरेर वन्यजन्तुसँग नजिक हुने सबैभन्दा महत्वपूर्ण पाटो रहेको छ ।

कति दिन बस्ने ?

२ रात ३ दिन : यदि तपाईं सौराहा आउनुभयो भने कम्तीमा पनि २ रात ३ दिन बस्ने सोचका साथ आउनुहोस् । यसमा तपाईंले सौरहाको केही झलक देख्न पाउनुहुनेछ । यदि तपाईंले चितवनलाई नजिकबाट हेर्न चाहानुहन्छ भने कम्तीमा ४ देखि ५ दिनको समय निकालेर आएमा सबैकुरा थाहा पाउन सक्नुहुनेछ ।

सौराहामा छुटाउनै नहुने कुराः

हात्ती सफारीः तपाईं सौराहा जानु भयो र यदि हात्ती सफारी गर्नुभएन भने सौराहा घुमाईको यात्रा अधुरै रहेको महसुस पछि गर्नुहुनेछ । खासमा हात्ती सफारीको अवधि २ देखि ३ घन्टाको हुने गर्दछ । हात्ती चढेर गएपछि तपाईंले गैँडा, बाघ, जरायो, मंयुरलगायतका जनावरहरु २–३ मिटरको नजिकबाट देख्न पाउनुहुनेछ । सौराहामा खासगरी हात्ती सफारी कुमरोज, खोरसोर र चित्रसेन सामुदायिक वनभित्र मात्र गराउन पाइने व्यवस्था रहेको छ ।

जिप सफारीः
सौराहाको अर्को रमाइलो र महत्वपूर्ण कुरा भनेको जीप सफारी पनि हो । यो खासगरी चितवन राष्ट्रिय निकुञ्ज भित्रको वा बाहिरको सामुदायिक वन क्षेत्रमा तपाईंको समयअनुसार घुम्न बनाइएको समयको तालिकामा आधारित रहेको हुन्छ । जुन आधा (हाफ) समयको वा पूरा (फुल) समयको सफारी भनेर विभाजन गरिएको छ । राष्ट्रिय निकुञ्जको कसरा हेडक्वाटरसम्म पुग्नेगरी दिनभरिको समूहमा गर्ने यात्रा एउटा रहेको छ भने ४–५ घन्टादेखि २–३ घन्टासम्मको राष्ट्रिय निकुञ्जका केही भाग र सामुदायिक वनको क्षेत्रमा सफारी गर्ने गरि व्यवस्था मिलाइएको छ ।

हात्ती महोत्सव :

क्षेत्रीय होटल संघ नेपाल सौराहा र विभिन्न संस्था मिलेर झण्डै डेढ दशकअघिदेखि हात्ती महोत्सव चितवनमा हुँदै आइरहेको छ । यो महोत्सव पर्यापर्यटन, वन्यजन्तुको संरक्षण र कला संस्कृतिको जर्गेना गर्ने हेतुले प्रत्येक वर्ष गर्ने गरिन्छ । जुन डिसेम्बर (पौस) महिनामा हुँदै आइरहेको छ । खासगरी यसमा स्वदेश र विदेशका गरी लाखौँ दर्शक र पर्यटकहरुको आगमन रहने गर्दछ । यस हात्ती महोत्सव भनेको मानव र जनावरबीचको सम्बन्ध अझ नजिक बनाउन र जनावरलाई माया गर्दा यसले पनि केही दिन्छ भन्ने सोचलाई सार्थकता दिन गर्दै आएको पाइन्छ । यसपालीको १६औं चितवन हात्ती महोत्सव पौष १० देखि १८ (डिसेम्बर २६ देखि जनवरी ३) सम्म बाघमारा सामुदायिक वनको खेल मैदानमा हुन लागेको छ ।

यो समाचार र जानकारी तयार पार्न हामीलाई सहयोग गर्ने पर्यटन व्यवसायी तथा टानका पूर्ववरिष्ठ केन्द्रीय उपाध्यक्ष केशव पाण्डेले सौराहाआफैँमा प्रकृति र वन्यजन्तुले भरिपूर्ण पर्यटकीय नगरी भएको बताउँदै सबैलाई एकपटक भ्रमण गर्न अनुरोध गरे । उनले एक दिनमात्र आएर सौराहालाई नजिकबाट आत्मसात् गर्न नसकिने भएकाले कम्तीमा २ देखि ३ दिनसम्मको बसाइ हुनेगरी आउन पनि आग्रह गरे ।

क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहामा थारु संस्कृति, कल्चर डान्सको पनि व्यवस्था रहेको जानकारी दिए । उनले सौराहा खान खाने पाहुनाले आफ्नो पकेटअनुसारको ३०० देखि १५०० सम्मको डिनर खान सक्ने जानकारी दिए । उनले हालका दिनमा पर्यटकहरु घुम्न आउने गरेकोमा चितवन राष्ट्रिय निकुञ्ज प्रवेशको टिकटको म्याद जम्मा १ दिनको मात्र हुने भएकाले समस्या आएको बताए । उनले यदि उक्त टिकटको म्याद ५ दिनसम्मको भए चितवनका धेरै ठाउँको र राष्ट्रिय निकुञ्जको सफारी गराउन र अवलोकन गराउन सहज हुने कुरा व्यक्त गरे ।

भट्टराईले हालका दिनमा सौराहाका पर्यटन व्इवसायीहरु रात्रीकालीन जीप सफारी पनि जरुरी छ भनेर लागेको बताउँदै पर्यटनको केन्द्र भएको ठाउँ भएकाले रात्रीकालीन जीप सफारी उपयुक्त हुने कुरा व्यक्त गरे । उनले रातिको समयमा सौराहा हुँदै कुमरोजसम्म र जिन्दगानीघाट हुँदै लोथरसम्मको ड्यामसाईटको बाटो प्रयोग गर्न खोजिएको जानकारी दिए ।

रात्रीकालीन समयमा जनावरलाई डिस्ट्रब हुन्छ भन्ने कुरा आएको छ नी भन्ने नेपालीको आवाज डटकमको प्रश्नमा भट्टराईले केहि मानिसहरु कुरा नै नबुझी बोलेको बताउँदै खासामा उक्त ड्यामसाईटमा रातिसम्म ट्रयाक्टरहरु पनि हिँड्ने गरेको र मानिसहरु पनि हिँडडुल गर्ने क्षेत्र भएको बताउँदै साँझ ६ देखि ९ बजेसम्मको समयमा रात्रीकालीन जीप सफारी गराउँदा पर्यटकको आकर्षण बढ्ने बताए । उनले ट्रयाक्टर हिँड्दा डिस्ट्रब नहुने जीप सफारी गर्दा डिस्ट्रब हुने भन्ने प्रश्ननै नउठ्ने बताए ।

क्षेत्रीय होटल संघ नेपाल सौराहाका उपाध्यक्ष गंगा गिरीले हाल सौराहामा वार्षीक १ लाख २० हजार पर्यटक आउने गरेको बताउदै केहि न केहि नया कुरा अब सौराहाले दिनुपर्ने बताए । उनले त्यसको लागि संघ हालका दिनमा लागि परेको बताए । उनले चाइनिज, भारतीय, अन्य देशका पर्यटकसंगै आन्तरीक पर्यटकहरु सौराहा आउने गरेको जानकारी दिए । उनले अब संघले सौराहा आउने पर्यटकको लागि चितवन जिल्लाका महत्वपूर्ण स्थानहरु घुम्ने प्याकेज टुरको ब्यवस्था मिलाउन लागेको जानकारी दिदै सबैलाई सौराहा घुम्न आउन चुले निम्तो पनि दिए ।

समग्रमा देशकै तेस्रो महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा सदैव अतिथिहरुको आतिथ्यताको लागि तयार रहेको छ । सो ठाउँमा आएपछि माथि भनिएजस्तै गरी समय र व्यवस्था मिलाएर घुम्न आएमा पक्कै पनि निराश भएर फर्कन नपर्ने कुरामा दुईमत छैन ।

तपाईको प्रतिक्रिया