चितवन । रत्ननगरमा नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता कुटेको भन्दै नेकपा चितवनले भत्र्सना गरेको छ । नेकपा चितवनले आइतबार एक विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको हो । बिज्ञप्तिमा मध्यवर्ती उपभोक्ता समितिको सबै टोलका इकाइको भेलाले सर्वसम्मत पदाधिकारीहरुको छनोट गरी मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा पेस गर्न जाँदा रत्ननगर नगरपालिका–५ निवासी नेपाली कांग्रेसका कार्यकर्ताहरु ऋषि गुरुङ, यादव पौडेल, प्रकाश खत्री, विकास गुरुङ, विष्णु रिमाल, श्री तामाङलगायतका व्यक्तिहरुले नेकपा जिल्ला कमिटी सदस्यहरु दुर्गाप्रसाद घिमिरे, स्थानीय नेता श्याम देवकोटा र रोजनाथ पाठकमाथि लछारपछार गर्दै कुटपिट गरेको उल्लेख गरिएको छ । घाइते मध्य श्याम देवकोटा पुरानो मेडिकल कलेजको आइसियुमा रहेको बताईएको छ ।

विज्ञप्तिमा उपभोक्ताहरुको अधिकारमाथि हस्तक्षेप गर्ने नियतले कार्यालय हाताभित्रै आक्रमण हुनु अत्यन्त निन्दनीय कार्य भएको उल्लेख गरिएको छ । राजनीतिक पूर्वाग्रहका आधारमा नेपाली कांग्रेस पटकपटक नेकपाका नेता कार्यकर्तामाथि हिंसात्मक आक्रमणमा उत्रिँदै आएको भन्दै नेकपा चितवनले कानुन हातमा लिई सांघातिक आक्रमण गर्ने कांग्रेसको चरित्र नै बनेको भन्दै घटनाको घोर विरोध र भत्र्सना गरेको कुरा उल्लेख गरेको छ । घटनामा संलग्नलाई तुरुन्त पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न तथा पुरानो मेडिकल कलेज भरतपुरमा गम्भीर अवस्थामा आईसीयुमा उपचार भइरहेका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग पार्टीले माग पनि गरेको छ ।

तपाईको प्रतिक्रिया