बाँके- बाँकेमा शीतलहर सुरू भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो साता परेको वर्षापछि अत्यधिक जाडो बढेको छ ।
चिसाले बाँकेका अल्पसङ्ख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । चिडिमार, घँसियार, मगन्ता, कुचबधियालगायत गरिब समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । फुसले छाएका कच्ची घर, लगाउने लुगा र ओढ्ने, ओछ्याउने नभएकाले यो समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् ।
चिसोले बिरामी, बालबालिका र वृद्धवृद्धा पनि प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउने उपायबारे सचेत गराउन प्रशासनले सार्वजनिक हितका लागि सूचना जारी गरेको छ । बाँकेका प्रजिअ कुमारबहादुर खड्काले न्यानो कपडा र आगो ताप्नका लागि दाउराको व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गरिएको बताए ।
‘नेपालगञ्ज, कोहलपुरलगायत जिल्लाका विभिन्न चोकमा आगो ताप्ने व्यवस्था मिलाउन स्थानीय तहलाई भनेका छौँ,” उनले भने । चिसो हावामा पानीको मसिनो थोपा खस्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग, फिल्ड कार्यालय, नेपालगञ्जका प्रमुख पलबहादुर विश्वकर्माले गत मंगलबारदेखि शीतलहर सुरू भएको बताए ।
अधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दा जाडोको महसुस बढी भएको उनको भनाइ छ । दिनभर चिसो सिरेटो चलेपछि महत्वपूर्ण काममा मात्र सर्वसाधारण बाहिर निस्कने गरेका छन् । नेपालगञ्ज–१९ का प्रमोद गिरीले चिसो हावा चलेर अत्यधिक ठण्डी बढेपछि घरबाहिर निस्कन नै नसकेको बताए । “चिसोले काम गर्न जाँगर पनि चल्दैन”, उनले भने ।

चिसोले बिरामी, बालबालिका र बृद्धबृद्धालाई बढी समस्या भएको छ । मुटु, श्वासप्रश्वास, बाथरोगका बिरामीलाई समस्या भएको भेरी अञ्चल अस्पतालका मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले बताए । उनले चिसोमा कोल्ड डाइरेरिया, निमोनियाँ, ज्वरो र रुघाखोकीको समस्या बढी देखिने बताए ।

डा पाण्डेले अस्पतालमा चिसोका बिरामी बढ्न थालेको बताउँदै भने, “बालबालिका र वृद्धवृद्धालाई न्यानो ठाउँमा राख्न एवं झोलिलो तथा तातो खान दिनुपर्छ ।” कोल्ड डाइरेरिया, निमोनिया, ज्वरो र रुघाखोकीले सताउने हुँदा चिसोबाट जोगिन डा पाण्डेले सुझाव दिए ।

शीतलहर सुरू भएसँगै डिभिजन वन कार्यालय, नेपालगञ्जले दाउरा वितरण सुरू गरेको छ । नेपालगञ्ज नगरका प्रत्येक परिवारलाई प्रतिकिलो रु सातका दरले एक क्विन्टल दाउरा प्रदान गरिएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए । नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा दाउरा वितरण गरिरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया